५ जेष्ठ २०८१, शनिबार
Follow Us

कुन दलबाट क-कसले पाए परिवारकाे आशिर्वाद ?

नेपालब्रिटेन संवाददाता
२५ आश्विन २०७९, मंगलवार ०६:१६

काठमाडौं । उम्मेदवारको मनोनयन दर्तासँगै मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको माहोल तातिएको छ । उम्मेदवार हुनेहरु आ–आफ्ना निर्वाचन क्षेत्रमा जान थालेका छन् ।

यसपटक पनि विगत जस्तै पार्टीमा पकड बनाएका नेताले आफ्ना परिवारका सदस्यलाई नै प्राथमिकता दिएका छन् । धेरथोर योगदान दिएका वा भर्खरै राजनीतिमा पाइला टेकेकाहरुलेसम्म नातेदारको बलमा टिकट पाए । कुन दलबाट कसका आफन्तले आशिर्वाद पाए त ?

२०४८ सालको निर्वाचनदेखि परिवारवादको विउ रोपियो । गणेशमान सिंह पत्नी मंगलादेवी र प्रकाशमान दुबै उम्मेदवार बने । त्यस्तै एमालेमा पनि पति–पत्नी उम्मेदवार बनेका थिए । त्यसपछि २०६३ मा आइपुग्दा त माओवादीले सशस्त्र द्वन्द्वमा योगदान पुर्याएको भन्दै धेरै जोडीलाई संसदमा भित्र्यायो ।

अहिलेसम्म आइपुग्दा नेता र दलमा परिवारमोह र परिवारवादी प्रवृत्ति देख्दा लोकतन्त्र, गणतन्त्रको नारा फजुल लाग्छ । राजनीतिमा मात्र होइन, कुटनीति, ठेक्कापट्टासम्ममा परिवारमोह देखिने गरेको छ । यो पटक कुन दलका नेताका परिवार नै राजनीतिमा स्थापित हुँदै छन् त ?

नेपाली कांग्रेस
आफूसँगै नातेदार उम्मेदवार
शेरबहादुर देउवा (डडेल्धुरा)– आरजु देउवा (पत्नी) समानुपातिक सूचीमा
बालकृष्ण खाण (रुपन्देही–३) – मञ्जु खाण (श्रीमती) समानुपातिक सूचीमा

आफन्त नै उत्तराधिकारी
मोहम्मद अफताव आलम (कारागारमा)– फीरदोस आलम (छोरा) रौतहट–२
खुमबहादुर खड्का (मृत्यु) – अनुराग खड्का (छोरा) दाङ –१ (ख) प्रदेशसभा
रोमी गौचन थकाली – योगेश गौचन थकाली (छोरा) मुस्ताङ

नेकपा एमाले
आफूसँगै नातेदार उम्मेदवार
शंकर पोखरेल (दाङ–२)– मेनकाकुमारी पोखरेल (बहिनी) समानुपातिक सूचीमा
आफन्त नै उत्तराधिकारी
रामबहादुर थापा बादल– नैनकला थापा (पत्नी) समानुपातिक सूचीमा

माओवादी केन्द्र
आफूसँगै नातेदार उम्मेदवार
पुष्पकमल दाहाल प्रचण्ड (गोरखा–२) – विना मगर (बुहारी) कञ्चनपुर–१, जीवन आचार्य (ज्वाईं) मोरङ–६
वर्षमान पुन (रोल्पा–२)– ओनसरी घर्ती (पत्नी) काठमाडौं– २

आफन्त नै उत्तराधिकारी
बाबुराम भट्टराई– मानुषी यमी भट्टराई (छोरी) काठमाडौं– ७
अग्निप्रसाद सापकोटा– माधव सापकोटा (भतिज) सिन्धुपाल्चोक–१

यी बाहेक पनि पहुँचका आधारमा आफन्त र व्यापारी उम्मेदवार बनेका छन् । दल र परिवर्तनका लागि योगदान दिनेहरु छायाँमा पर्न थालेका छन् । आफूसँगै पत्नी, छोरा–छोरीलाई राजनीतिमा स्थापित गर्ने नेताहरुको कमी रहेन । त्यसबाहेक आफूले त्याग गरेको बताउने नेताले उत्तराधिकारीकारुपमा आफन्तलाई नै प्राथमिकतामा दिने गरेका छन् ।