३० बैशाख २०८१, आईतवार
Follow Us

नेपथ्य कन्सर्थमा पोखरेलीको साथ

नेपालब्रिटेन संवाददाता
१४ पुष २०७९, बिहीबार ०४:४६

पोखरा । बिहान झलमल्ल हिमाल देखेर म पोखराको मान्छेको धेरै दिनदेखिको न्यास्रो मेटियो’ नेपथ्यका गायक अमृत गुरुङले यसरी पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा मंगलबार राति आयोजित कन्सर्टमा ठाउँसँगको आफ्नो सामीप्य प्रकट गर्नासाथ विशाल दर्शक घेरा खुशीले उत्तेजित भयो । उनले तमाम दर्शकका साथसाथै ब्याण्डलाई यसरी प्रस्तुतिको मौका जुराइदिने मानव सेवा आश्रमलाई धन्यवाद ब्यक्त गरे ।

त्यसपछि उनले आफ्नो थातथलो नछाड्न आव्हानका साथ गाउँ जाने र रोदीमा बसेर गाउने अनुरोध गर्दै लामपाते सुरतीबाट गायन सुरु गरे । त्यसपछि पनि नेपथ्यका पुरानै गीतहरु ‘चरि म¥यो’ र ‘जोमसोमे बजारमा’ले निरन्तरता पाएको थियो । यस गीतमा अमृतले ‘घर हाम्रो पोखरा’ भनेर गाइरहँदा दर्शकदीर्घामा पनि जताततै तन्नेरीहरु ‘घर हाम्रो पोखरा’ भनेर चिच्याइरहेको देखिन्थ्यो ।

‘हाम्रो पोखरा त सुन्दर छँदैछ । अन्यत्र पनि सुन्दर ठाउँले भरिएको यो देश घुम्ने मौका नछाडौं है ।’ भन्दै उनले शिरफुल गीत सुनाए ।

कार्यक्रम अवधिभर उनले मानवसेवा आश्रमको उद्देश्यबारे बोलेका थिए । सडकमा आश्रित बन्नपुगेका मुलुकभरका नागरिकहरुको सेवामा खटिएको यो संस्थासँग मिलेरै नेपथ्यले यसपटकको देश दौडाहा गरेको हो । यसैक्रममा ब्याण्डको अर्कोे सर्वकालीक हिट गीत ‘यो जिन्दगानी’ गाउँदै गर्दा मञ्चको पृष्ठभागमा आश्रमकै आश्रित मानवहरुको मनछुने तस्बिर देखाइएको थियो । अमृतले लाहुरेहरुबाट भित्रिएको गीत ‘नैनाताल’ गाउनुअघि मुलुकले भोग्नुपरेको युवा पुस्ताको पलायनबारे चिन्ता प्रकट गरेका थिए ।

पोखरा–२५को हेम्जा बाबियतारास्थित ‘मानव सेवा आश्रम’मा नेपथ्य टोलीले यसअघि भ्रमण गरेको थियो । त्यतिबेला अमृतले आश्रमले मुलुकभर सडकमा आश्रित रहेकाहरुलाई खाना र छाना दिने काम गरेकैबाट प्रभावित भइ आफ्नो ब्याण्डलाई अब संगीतका माध्यमबाट मानवताको सेवातर्फ मोड्न खोजेको प्रष्ट पारेका थिए ।

‘गाउँ गाउँबाट उठ’ बोलको गीत अमृतले मञ्चबाट गाइरहँदा नयाँबजारस्थित मैदानमा भरिएका अधिकांश दर्शकले पनि गाएरै साथ दिइरहेको रोचक दृश्य देखिन्थ्यो ।

अन्त्यतिर सधैँजस्तै नेपथ्यको सर्वकालीक हिट गीतहरु ‘रेशम’ र ‘तालको पानी’ गाइएको थियो भने अन्तिममा ‘रातो र चन्द्रसूर्जे’ बाट बिट मारिएको थियो ।

नेपथ्यको यो कन्सर्टले पोखरामा लगातार सफलता पाएकोमा मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले खुसी ब्यक्त गरे । १६ मंसिरमा विराटनगरबाट सुरु मानवताको लागि नेपथ्यको देशब्यापी यात्रा काठमाडौंको भृकुटीमण्डपमा नेपथ्य १६ पुसमा पुगेर सकिने नेपालयका अर्पण शर्माले बताए ।