६ बैशाख २०८१, बिहीबार
Follow Us

गैरआवासीय नेपालीहरुको सम्पतिमा आँखा नलगाऔं : प्रोफेर सूर्य सुवेदी

नेपालब्रिटेन डट कम्
२५ माघ २०७९, बुधबार ०४:०५

लण्डन् । प्रोफेसर सूर्य सुवेदीले एनआरएनएहरुको सम्पत्तिको सुरक्षाको माग गरेका छन् । गैरआवासीय नेपाली संघ यूकेले सोमवार आयोजान गरेको एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सुवेदीले गैर–आवासीय नेपालीहरुको नेपालमा रहेको सम्पत्तिमा कसैले आँखा लगाउन नहुने वताए । उनले गैर–आवासीय नेपालीहरुले नागरिकताको निरन्तरताको मागलाई अगाडी बढाई निष्कर्षमा पुराउन आग्रह समेत गरे ।

गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेले नेपाल बार एसोसियसनका अध्यक्ष तथा वरिष्ट अधिवक्ता गोपाल कृष्ण घिमिरे र पूर्व बार एसोसियसन महासचिव सुनिल कुमार पोखरेलसँग गरेको अन्तरक्रियामा सुवेदीले बारसंग सहकार्य गरेर अघि बढ्न सुझाव दिए ।

मिडल्याण्डको नटिङ्गममा भएको अन्तरक्रियामा एनआरएनएले गैर–आवासीय नेपालीहरुको समसामयिक विषय, बदलिएको नेपाली कानुन र गैर–आवासीय नेपालीहरुको नेपालमा रहेको सम्पतिको बारे छलफल गरेका थियो ।

कार्यक्रममा गैर–आवासीय नेपाली संघ बेलायत र नेपाल बार एसोसियसनवीच संयुक्त कार्यपत्रमा सम्झौता गरिएको छ । सम्झौता पत्रमा बार एसोसिएसनका अध्यक्ष गोपाल कृष्ण घिमिरे र गैर–आवासीय नेपाली संघ बेलायतका अध्यक्ष सुनिल बाबु खडकाले हस्तांक्षर गरेका छन् ।

सम्झौता पत्रबारे बोल्दै एनआरएनए यूके उपाध्यक्ष डा. कंडेलले गैर–आवासीय नेपालीहरुका सम्पत्ति सम्बन्धि कुनै पनि समस्याको कानुनी लडाई एनआरएनए यूके र नेपाल बार एसोसिएसनले संयुक्तरुपले लड्ने बताए । यसको लागि नेपाल बार एसोसिएसन र गैर–आवासीय नेपाली संघ बेलायतको हेल्प डेस्क नेपालका प्रमुख सहरहरुमा राखिने उनले जानकारी दिए । क्रमशः यसको बिस्तार नेपालका सबै जिल्लाहरुमा गरिने पनि उनले बताए ।

कार्यक्रममा बोल्दै गैर–आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्यव परिषदका अध्यक्ष कुल आचार्यले एनआरएनए मुद्धाहरुबारे अझैं लबिङ गर्नुपर्ने बताए । ‘जे जति अधिकार मिलेको छ, यत्तिमै चित्त नबुझाई संघले अब दोहोरो नागरिकता र सम्पत्तिको हक नैसर्गिक बनाउनेमा संघको आगामी मुद्धा हुनेछ ।’

एनआरएनए यूके अध्यक्ष सुनिल बाबु खड्काको अध्यक्षतामा भएको उक्त अन्तरक्रिया कार्यक्रमको समुद्घाटन, अध्यक्ष खड्का, गैर–आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुल आचार्य, नेपाल बार एसोसिएसनका अध्यक्ष एवं वरिष्ट अधिवक्ता गोपाल कृष्ण घिमिरेले गरेका थिए ।

राष्ट्रिय समन्वय परिषदका उपाअध्यक्ष डा. नारायण दत्त कंडेलले संयोजन गरेको उक्त अन्तरक्रिया कार्यक्रममा हेम्मसायर पुलिसका सल्लाहकार, लेखक एवं नेता शिवजी श्रेष्ठ, सामाजिक अभियन्ता एवं नेता केशव भन्डारी, युरोप उपसंयोजक दयानिधि सापकोटा, पूर्व मानार्थ सदस्य एवं नेता रणबहादुर क्षेत्री, केन्द्रीय सदस्य महेश अधिकारी, नेपाली ब्रिटिस लयर्स एसोसिएसनका अध्यक्ष दिपक भट्टराई लगायत स्थानिय अभियन्ताहरुले आ–आफ्नो भनाई राखेका थिए ।