२३ बैशाख २०८१, आईतवार
Follow Us

पोर्चुगलमा मानवतस्करी, १७ जना बेलारुसमा अलपत्र

नेपालब्रिटेन संवाददाता
३१ जेष्ठ २०८०, बुधबार २०:२८

लण्डन । मानवतस्करीमा संलग्न समूहले १७ जना नेपालीलाई पोर्चुगलमा पु(याएर अलपत्र बनाएको छ । पोर्चुगल पठाउने नाममा मानवतस्करीका घटना बढेको प्रहरी अधिकारी बताउँछन् ।

पोर्चुगलमा आप्रवासीलाई सहज नियम भएकाले अवैध बाटोबाट त्यहाँ लैजाने भन्दै ठगी र मानवतस्करी हुने गरेको छ ।

पछिल्लो समय रुस हुँदै पोर्चुगल पठाउने धन्दा बढेको र धेरैजना बाटोमै अलपत्र पर्ने गरेको प्रहरीले जनाएको छ । दुबईबाट रसिया हुँदै बेलारुस पुगेका केही नेपालीहरुले उद्धारका लागि आग्रह गरेका छन् ।

——
शंकास्पद कागजपत्र बोकेर भिजिट भिसामा विदेश जान लागेका ४५ जनालाई एकै दिन प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको छ । मंगलबार ३० जना महिला र १५ जना पुरुषलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले विमानस्थलबाट फर्काएको हो ।

मानव बेचबिखनको जोखिममा देखिएकाहरूलाई फर्काएको ब्युरोका प्रमुख एसएसपी जीवनकुमार श्रेष्ठले बताए । फर्काइएकामध्ये धेरैजसो संयुक्त अरब इमिरेट्स, कुवेत र ओमान जान लागेका छन् ।

ती देशको कुन ठाउँमा जाने, कहाँ बस्नेजस्ता सामान्य विषयमा पनि उनीहरूलाई जानकारी थिएन । भिजिट भिसामा मानव तस्करी गर्ने समूहले त्यसरी खाडीमा पठाउन खोजेको प्रहरी आशंका छ ।

यसरी भिजिट भिसामा जान खोज्नेमध्ये कतिपयसँग नक्कली श्रम स्वीकृतिसमेत फेलापर्ने गरेको छ । तर, पीडितहरूले एजेन्टविरुद्ध उजुरी नदिने गरेका कारण प्रहरीले उनीहरूलाई अनुसन्धानको दायरामा ल्याउन सकेको छैन । पीडितले उजुरी नदिई मानव बेचबिखन मुद्दामा अनुसन्धान गर्न नमिल्ने प्रावधान छ ।

जेठमा मात्र ब्युरोले भिजिट भिसामा जान लागेका नौ सय ४० जनालाई विमानस्थलबाट फर्काइसकेको छ । जसमा पाँच सय ४८ जना महिला छन् । खाडी देशमा घरेलु कामदारका रूपमा महिलालाई प्रतिबन्ध भएकाले उनीहरूलाई भिजिट भिसामा लगेर त्यहाँ काममा लगाउने गरिन्छ ।

काममा लगाउनुअघि उनीहरूको त्यहाँ बेचबिखन हुने गरेको प्रहरी अधिकारी बताउँछन् । त्यसरी बेचिएर समस्यामा परेका महिलाको पटक–पटक उद्धार हुँदै आएको छ ।

भिजिट भिसामा हुने मानव बेचबिखन रोक्नकै लागि आफूहरूले शंकास्पदहरूलाई पहिले नै रोक्दै आएको ब्युरोका एसएसपी श्रेष्ठ बताउँछन् । खाडी मात्र नभई सर्बियाजस्ता देशमा समेत कतिपय महिला भिजिट भिसामा जान खोज्ने क्रममा रोकिएका छन् ।

विगतमा भएका कतिपय छानबिनमा एयरलाइन्स र अध्यागमन कर्मचारीकै मिलेमतोमा समेत भिजिट भिसामा मानवतस्करी हुँदै आएको भेटिएको थियो । गृह मन्त्रालयले नै गरेको छानबिनमा यस्तो पुष्टि भए पनि कर्मचारीमाथि भने कारबाही हुन सकेन ।

अहिले पनि अध्यागमनमा भिजिट भिसाको लाइन चलिरहेको स्रोत बताउँछ । ‘यहाँ दरबन्दीभन्दा धेरै कर्मचारी कार्यरत छन्,’ अध्यागमनका एक कर्मचारी भन्छन्, ‘सायद केही आकर्षण भएरै यसरी धेरै पावर लगाएर आएको हुनुपर्छ ।’