लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को वालुवाटारस्थित सचिवालयका प्रमुख कार्यकारी अधिकृत रविकिरण अधिकारीले पदबाट राजीनामा दिएका छन्।
गैरआवासीय नेपाली संघको उच्चस्रोतका अनुसार अधिकारीले आइतवार नेतृत्व समक्ष आफ्ना असन्तुष्टी पोख्दै लामो पत्र लेख्दै सो जिम्मेवारीबाट बाहिरिएका हुन् । उनको कार्यकाल आगामी ६ अगष्टमा सकिदै थियो ।
स्रोतका अनुसार अधिकारीलाई उनको कार्यकाल नथपिने जानकारी मौखिक रुपमा यसअघिनै जानकारी दिइएको थियो । स्रोतले भन्यो ‘उहाँ यसअघि दैनिकजस्तो जागिर खोज्न अन्तरवार्तामा दिन हिडेको जानकारी थियो । आजै राजीनामा आयो ।’
अधिकारीलाई संघको केन्द्रीय कार्यालयको प्रयोग गरेर छुट्टै व्यवसाय चलाएको आरोप लागेको थियो । उनलाई संघले विगत १ वर्षमा ३ पटक स्पस्टिकरण माग गरेको थियो ।
ओमनको मस्कटमा तीनदिनसम्म चलेको मध्यपूर्व सम्मेलनमा आफू अपमानित भएको भन्दै उनले असन्तुष्टि जनाएका थिए । राजीनामा पछि उनले संघका पदाधिकारीमाथि आरोपप्रत्यारोपमा उत्रिएका छन् ।