१६ बैशाख २०८१, आईतवार
Follow Us

महिला विश्वकप फुटबल : दक्षिण अफ्रिका र अर्जेन्टिना बराबरी

नेपालब्रिटेन संवाददाता
१२ श्रावण २०८०, शुक्रबार ०५:५६

डुनेडिन । फिफा महिला विश्वकप फुटबलअन्तर्गत शुक्रबार बिहान सम्पन्न खेलमा २ गोलको अग्रतालाई बचाउन नसक्दा दक्षिण अफ्रिकाले अर्जेन्टिनासँग बराबरीमा चित्त बुझाउनु परेको थियो ।

दक्षिण अफ्रिकाका लागि लिन्डा मोतहालोले ३० औं मिनेटमा गोलको खाता खोलिन् । त्यसपछि थाम्बी खगतालानाले ६६ औं मिनेटमा अर्को गोल थपिन् । तर दक्षिण अफ्रिकाको यो खुशी धेरै समय टिकेन । अर्जेन्टिनाका लागि ७४ मिनेटमा सोफिया ब्राउनले पहिलो गोल गरिन् । त्यसको ५ मिनेट अर्थात् ७९ मिनेटमा रोमिना नोनिजले गोल फर्काएपछि खेल बराबरीमा सकिएको थियो ।

न्युजिल्याण्डका डुनेडिनमा भईरहेको यो खेल समुह ‘जि’ को दोस्रो चरणको खेल हो । यो समुहको पहिलो चरणको खेलमा स्विडेन र इटाली विजयी भएका थिए । दक्षिण अफ्रिका र अर्जेन्टिनालाई अघिल्लो चरणमा प्रवेश यात्रा कठिन बनेको छ । दुवै टोलीलाई जित्नैपर्ने दबाब सिर्जना भएको छ भने स्वीडेन र इटालीले बराबरी खेले पुग्छ ।

शुक्रबारै हुने समुह ‘डि’ का खेलहरुमा इंग्ल्याण्ड र डेनमार्क तथा चिन र हाइटी भिड्नेछन् ।

उता, अमेरिका र नेदरल्याण्ड्सले फिफा महिला विश्वकप फुटबलमा बराबरी खेलेका छन् । अघिल्लो विश्वकपका फाइनलिष्ट दुई टोलीबिच बिहीबार भएको खेल १–१ गोलको बराबरीमा सकिएको हो ।

यो बराबरीपछि समुह ‘ई’ बाट नकआउट चरणमा पुग्ने समिकरण रोचक बनेको छ । दुई खेलबाट अमेरिका र नेदरल्याण्ड्सको ४–४ अंक भएको छ भने पोर्चुगलको ३ अंक छ । अंकबिहिन भियतनाम तालिकाको पुछारमा रहेको छ । बिहीबारै भएको खेलमा पोर्चुगलले भियतनामलाई २–० ले हराएको हो ।

उता समुह ‘बि’ को खेलमा आयोजक अष्ट्रेलियालाई नाइजेरियाले ३–२ ले हराएको छ । जितसँगै दुई खेलबाट ४ अंक जोडेको नाइजेरिया समुहको शिर्ष स्थानमा उक्लिंदा क्यानाडाको पनि समान ४ अंक छ । ३ अंक जोडेको अष्ट्रेलिया तेस्रो तथा अंकबिहिन आयरल्याण्ड चौथो स्थानमा छ ।