१२ श्रावण २०८१, शनिबार
Follow Us

काँग्रेस केन्द्रीय समिति बैठकको मुख्य एजेन्डा महासमिति बैठक हुने

नेपालब्रिटेन संवाददाता
१ आश्विन २०८०, सोमबार १२:५८

काठमाडौँ । नेपाली काँग्रेसको आसन्न केन्द्रीय समितिको बैठकको छलफलको पहिलो प्रमुख एजेन्डा महासमिति बैठक हुने भएको छ ।

४ असोज (बुधबार) देखि बस्ने बैठकमा मंसिरमा हुने महासमितिको तयारीमा केन्द्रित हुने भएको छ । नीति महाधिवेशनले निर्दिष्ट गरेका विषयवस्तु कार्यान्वयन हुने गरी मंसिर १३ देखि १५ सम्म महासमिति बैठक गर्ने केन्द्रीय समितिले निर्णय गरेको थियो ।

महासमिति बैठकमा प्रस्तुत हुने राजनीतिक, साङ्गठनिक लगायतका प्रतिवेदन लेखनका लागि केन्द्रीय समितिले टोली बनाउने शीर्ष तहका एक नेताले जानकारी दिए ।

विधान अनुसार महाधिवेशन बाहेकका हरेक वर्ष महासमिति बैठक बस्नुपर्दछ । नीति महाधिवेशन र महासमिति दुवै कार्य एकै पटक हुने गरी काँग्रेसले महासमिति बैठक आह्वान गरेको छ । महाधिवेशन पछिको शक्तिशाली निकाय महासमिति बैठक हो ।

केन्द्रीय समितिको बैठकमा पार्टी सङ्गठन सुदृढीकरणको समीक्षा, महासमिति बैठक, समसामयिक विषयमा बैठकमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय समितिले निर्णय गरे अनुसार भएका पोलिसी ह्याकथान र बीपी साहित्य महोत्सवको समीक्षा हुनेछ । वार्षिक कार्यतालिका अनुसार हालसम्म भएका कार्यक्रम बारे महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले बैठकलाई जानकारी गराउने भएका छन् ।