८ बैशाख २०८२, सोमबार
Follow Us

यस्तो छ एनआरएनए निर्वाचन तालिका (निर्वाचन समितिको सूचना सहित)

नेपालब्रिटेन संवाददाता
२ आश्विन २०८०, मंगलवार १९:४४

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयां नेतृत्वको लागि मतदान अक्टोवर १९ तारिख विहिवार मतदान हुने भएको छ ।

संघको निर्वाचन समितिद्धारा प्रस्तावित निर्वाचन तालिका अनुसार उम्मेदवारको मनोनयन पत्र दर्ता १२ देखी १४ तारिखभित्र अनलाइन र भौतिक रुपमा लिने तयारी गरिएको निर्वाचन आयुक्त चिरन्जीबी ढकालले जानकारी दिए ।

ढकालका अनुसार अनलाइन मार्फत उम्मेदवारी दर्ता गर्न पाइने तर उम्मेदवार र प्रस्तावक हस्ताक्षर सानखत गर्न अनिवार्य भौतिक रुपमा निर्वाचन कार्यालयमा उपस्थित हुनु पर्ने छ ।

अनलाइन मार्फत दर्ता गरेका उम्मेदवारहरुले १६ तारिख ५ बजे सम्म भौतिक रुपमा निर्वाचन कार्यालयमा उपस्थित भएर सनाखत गर्नु पर्नेछ । भौतिक रुपमा उम्मेदवारी दर्ता गर्न चाहने उम्मेदवारले अक्टोवर १५ र १६ तारिख दिउंसो १ बजे सम्म उम्मेदवारी दर्ता गर्न सक्ने छन् ।

उम्मेदवारको अन्तिम नामावली अक्टोवर १७ तारिख साँझसम्म प्रकाशन हुने भएको छ । मतदान समय १९ तारिख विहान नेपाली समय १० देखी ६ बजे सम्म भौतिक रुपमा काठमाण्डौंस्थित सोल्टि होटलमा हुनेछ । यस्तै अनलाइन मार्फत मतदान १९ तारिख विहान १२ बजे देखि साँझ ८ बजेसम्म हुने कार्यतालिका तय गरिएको छ ।

गैरआवासीय नेपाली संघको विधानअनुरुप सो निर्वाचनमा उम्मेदवार बन्न चाहनेहरु, प्रस्ताव र समर्थक समेत अनिवार्य रुपमा काठमाण्डौंमा भौतिक रुपमा उपस्थित हुन पर्ने प्रावधान रहेको छ ।

समितिका अनुसार २० सेप्टेम्बरका दिन मतदाताको पहिलो नामावली प्रकाशन गर्ने तयारी रहेको छ । मतदाताको अन्तिम नामावली २६ सेप्टेम्बरमा प्रकाशन गर्ने कार्यतालिका तय गरिएको छ ।