१९ असार २०८१, मंगलवार
Follow Us

डायसफोराले नेपालप्रति प्रेम देखाउने अहिले उपयुक्त समय होः अर्थमन्त्री डा. महत

नेपालब्रिटेन डट कम्
१४ कार्तिक २०८०, मंगलवार २१:५१


‘क्षमता अनुरुप लगानी भित्राउन अर्थमन्त्री डा. महतको आब्हान’

लन्डन । नेपाली डायरफोराले नेपालप्रति प्रेम देखाउने अहिले उपयुक्त समय भएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।

नेपाली दूतावास लन्डनमा सोमवार साँझ आयोजित स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने, ‘नेपाली डायरफोराले नेपालमा लगानी गरेर वास्तविक माया देखाउने बेला आएको छ । तपाईंहरुसँग जे क्षमता छ, त्यो क्षमता उपयोग गरेर नेपालप्रतिको प्रेम देखाउने अहिले उपयुक्त समय हो ।’

दुई पक्षीय, बहुपक्षीय सहयोगले मात्र नेपालको विकास सम्भव छैन । संस्थागत निजी क्षेत्रको लगानीको आवश्यकता छ, मन्त्री डा. महतले भने, ‘नेपालीको धेरै ठूलो संख्या विश्वभर फैलिएको छ । विदेशमा नेपालीको दोस्रो पुस्ता हुर्किदैछ । सिप, ज्ञान र पूँजीको हिसाबले नेपाली डायसफोराले आफ्नो अस्तित्व बनाउँदैछ ।’

अर्थमन्त्री डा. महतले भने ‘बेलायतमा नेपाली मूलका ब्रिटिस नागरिकता भएका अथवा नभएका ठूलो संख्यामा हुनुहुन्छ तपाईंहरुको पनि लगानी नेपालमा होस् । विश्वभरि छरिएर रहेका नेपालीहरुले हाइड्रो, होटललगायत अन्य क्षेत्रमा नेपालमा लगानी भइरहेको छ ।’

मध्यपूर्वका नेपालीहरुले सिकेको सिप र ल्याएको पूँजी नेपालमा उपयोग गरिरहेका छन् । उनीहरुको विशेष रुचि एग्रो विजनेशमा देखिन्छ । नेपालको आर्थिक विकासमा एग्रो बिजनेशको ठूलो सम्भावना रहेको मन्त्री डा. महतले बताए ।

कार्यक्रममा बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य, उपनियोग प्रमुख तथा प्रवक्ता रोशन खनालले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, पत्रकार, बेलायती सांसद लगायत बेलायतस्थित गैरआवासीय नेपालीहरुको उपस्थिति थियो । मन्त्री डा. महतले मंगलवार लण्डनमा आयोजना हुने एक नेपालमा लगानी सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनी बुधवार नेपाल फर्किने तयारीमा छन् ।