१५ असार २०८१, शुक्रबार
Follow Us

शेष घलेको एमआईटी ग्रुप फाउण्डेसनले भूकम्प प्रभावित क्षेत्रमा सहयोग गर्ने

नेपालब्रिटेन डट कम्
२२ कार्तिक २०८०, बुधबार १२:१२

लण्डन । एमआईटी ग्रुप फाउण्डेसनका अध्यक्ष एवं गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घले संयोजकत्वको टोलीले जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई राहत सामग्री प्रदान गरेको छ । साथै, भूकम्पबाट धेरै प्रभावित जाजरकोट पुगेर क्षतिको अवलोकन पनि गरेको छ ।

टोलीले रुकुमको आठबिसकोट नगरपालिका–१३ मा १ हजार थान ब्ल्यांकेट र एक गाडी खाद्य सामग्री सोमबार त्यसतर्फ पठाएको थियो । एमआईटी ग्रुप फाउण्डेसन र ग्लोबल एनआरएनए फाउण्डेसनले संयुक्त रुपमा राहत कार्यक्रम चलाएका हुन् ।

दुई समूहमा विभाजन गरेर चलाइएको समूहअन्तर्गत एक समूहले आठबिसकोट नगरपालिका–१३ मा राहत सामग्री वितरण गरेको हो । फाउण्डेसन अध्यक्ष तथा भूकम्पको राहत वितरणका लागि ग्लोबल एनआरएनएका संयुक्त संयोजक घलेसहितको एनआरएन टोलीले दुवै जिल्लाको स्थलगत अवलोकन गरे ।

उनीहरुले त्यहाँ भूकम्प पीडित स्थानीयवासी, पूर्वअर्थमन्त्री जनार्दन शर्मा, नगरपालिकाका मेयर लगायतसँग भेट गरी क्षतिको अवस्था र राहतको आवश्यकताबारे जानकारी लिएका थिए । त्यसपछि खलंगा र भेरी नगरपालिकाको स्थलगत अवलोकनमा पुगेको घलेसहितको टोलीले उर्जामन्त्री शक्ति बस्नेत, प्रमुख जिल्ला अधिकारीसहित दलका नेताहरुसँग भेट गरी सहयोगको आवश्यकताबारे जानकारी लिएका थिए ।