१२ श्रावण २०८१, शनिबार
Follow Us

उपरथी अशोक सिग्देल रथीमा बढुवा, प्रधानसेनापति बन्ने लाइन

नेपालब्रिटेन संवाददाता
२८ मंसिर २०८०, बिहीबार १२:५६

काठमाडौं । सरकारले सेनाका उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सिग्देललाई रथी पदमा बढुवा, नियुक्तिको निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिग्देललाई रथी पदमा बढुवा गरेको जानकारी दिइन् । सैनिक मुख्यालयले मंसिर १७ गते वरिष्ठ उपरथी सिग्देललाई बढुवा गर्न रक्षा मन्त्रालयमा सिफारिस गरेको थियो ।

बढुवासँगै उनी सिग्देल प्रधानसेनापतिको लाइन बसेका छन् । उनी प्रभुराम शर्मापछि प्रधानसेनापति हुने निश्चित भएको हो ।

यसअघि बढुवा सिफारिसमा परेका उपरथी ताराध्वज पाण्डे उमेर विवादमा मुछिएपछि पदबाट राजीनामा दिएका थिए ।

सेनामा बलाधिकृत र बलाध्यक्ष गरी दुई रथी हुन्छन् । अहिले बलाधिकृत रथी सीताराम खड्का छन् । अब सिग्देल बलाध्यक्ष रथी हुन्छन् । खड्का यही पुसमा नियमित अवकाशमा जानेछन् । त्यसपछि सिग्देल बलाधिकृत रथीमा बढुवा हुनेछन् । २०८१ को भदौ २४ मा अहिलेका प्रधानसेनापति प्रभुराम शर्माले तीनवर्षे कार्यकाल पूरा गरेपछि सिग्देल नै प्रधानसेनापति हुनेछन् ।