१२ श्रावण २०८१, शनिबार
Follow Us

अख्तियारले तारेखमा छाड्यो बालकृष्ण खाँणलाई

नेपालब्रिटेन संवाददाता
२९ मंसिर २०८०, शुक्रबार १३:३६

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहनु भएका पूर्व गृहमन्त्री बालकृष्ण खाँण थुनामुक्त भएका छन् । उच्च अदालत पाटनको आदेश अनुसार खाँणाले शुक्रबार जिल्ला अदालत काठमाडौंमा ३० लाख धरौटी बुझाउनु भएको थियो । त्यसपछि उनलाई सम्पत्ति शुद्धिकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगिएको थियो ।

सम्पत्ति शुद्धिकरण विभागमा पनि १५ लाख धरौटी बुझाउनु भएका खाँणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट साधारण तारेखमा छाड्ने निर्णय भएसँगै पूर्व गृहमन्त्री खाँण ७ महिना पछि थुनामुक्त भएका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले शुक्रबार आदेश दिएको थियो । तर, प्रहरीले अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभाग र आयोगसमक्ष पनि सिफारिस गरेकाले उनी छुटेका थिएनन् ।

शुक्रबार अबेर उनलाई तारेखमा छाड्ने निर्णय भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि खाँणलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । उनले त्यसअनुसारको बैंक ग्यारेन्टी जम्मा गरिसकेका छन् ।