१२ श्रावण २०८१, शनिबार
Follow Us

सरकारले उखुको मूल्य तोक्यो, किसानले प्रतिक्विन्टल ६३५ रुपैयाँ पाउने

नेपालब्रिटेन संवाददाता
४ पुष २०८०, बुधबार ११:१४

काठमाडौं । नेपाल सरकारले उखुको समर्थन मूल्य तोकेको छ । बुधबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको नयाँ हलमा बसेको मन्त्रिपरिषद बैठकले उखुको मूल्य सरकारले दिने अनुदानसहित प्रतिक्विन्टल ६ सय ३५ रुपैयाँ तोकेको हो ।

बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारको प्रवक्ता रेखा शर्माले उद्योगले प्रतिक्विन्टल ५ सय ६५ रुपैयाँ दिनु पर्ने गरी उखुको मूल्य तोक्ने निर्णय भएको जानकारी दिइन् । उनकाअनुसार सरकारले अनुदान स्वरुप उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ दिने निर्णय गरेको छ ।

‘कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा उखुको न्यूनतम खरिद मूल्य जुन छ त्यसलाई उद्योगले प्रतिक्विन्टल ५ सय ६५ रुपैयाँ दिनु पर्ने निर्णय भयो । र उखु कृषकलाई प्रतिक्विन्टल ७० रुपैयाँ सरकारले अनुदान दिने निर्णय भएको छ,’ उनले भनिन्, ‘किसानले प्रतिक्विन्टल ६३५ रुपैयाँ प्राप्त गर्ने गरी उखुको मूल्य निर्धारणको निर्णय भएको छ ।’

मन्त्री शर्माले उखुको मूल्य तोक्न ढिला भइरहेको अवस्थामा आजको मन्त्रिपरिषदले मूल्य तोक्ने एक मात्र निर्णय गरेको जानकारी दिँदै सरकारको कामलाई गति दिने विषयमासमेत छलफल भएको जानकारी दिइन् । ‘उखुको खरिद मूल्य तोक्न ढिला भएको थियो । त्यसकारण आजको क्याबिनेट बैठकमा यो एउटा निर्णय गरियो । र बैठकमा सरकारको कामलाई कसरी गति दिने भन्ने विषयमा छलफल भए पनि अन्य निर्णय गरिएन ।’ उनले भनिन् ।