१० असार २०८१, आईतवार
Follow Us

एनआरएनएमा समन्वय र सहमतिमा जोड

नेपालब्रिटेन डट कम्
८ पुष २०८०, आईतवार १३:१३

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय पदाधिकारीहरुले संघका राष्ट्रिय समन्वय परिषद (एनसीसी) र अन्तराष्ट्रिय परिषद् (आइसीसी) लगायतका सबै पक्षसंग समन्वय गरेर जानुपर्ने बताउनुभएको छ ।

गैरआवासीय नेपाली संघ एशिया प्यासिफिकको आयोजनामा आइतवार जापानको राजधानी टोकियोमा भएको अन्तरक्रिया कार्यक्रममा संघको गत अक्टुवरमा सम्पन्न निर्वाचनको परिणाम मान्नुको बिकल्प नरहेको भन्दै पदाधिकारीले संघ भित्र सहमति र सहकार्यको आवश्यकता रहेको बताउनुभएको हो ।

संघका उपाध्यक्ष डा. हेमराज शर्माले संस्थाभित्र समस्या देख्दादेख्दैपनि विश्वभरबाट नयाँ पुस्ता तथा युवाहरु संघको अभियानमा जोडिनु सकरात्मक पक्ष रहेको बताउनुभयो । उहाँले राष्ट्रिय समिति र अन्तराष्ट्रिय समन्वय परिषदबीचको समन्वय अनिवार्य रहेको बताउंदै एनसीसीले आइसीसीलाई नमाने त्यसको प्रत्यक्ष समस्या राष्ट्रिय समितिमा पर्ने हुंदा त्यसमा गम्भिर हुन समेत आग्रह गर्नुभयो । त्यसैगरि शर्माले गैरआवासीय नेपालीहरुका धेरै मुद्दा राजनीतिक भएको हुंदा स्थानीय दलका भातृसंस्थाहरुसंग मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । तर राजनीतिक दलहरुको सहयोग आवश्यक हुने भएपनि संस्थाभित्र राजनीतिक गर्न नहुने उहाँको भनाइ थियो । राजनीतिक दललाई संघले पहिलेदेखि नै भ्रमपुर्ण सूचना दिँदा संस्थाभित्र विभाजन सुरु भएको समेत बताउनुभयो ।

त्यसैगरि, कार्यक्रमलाई सम्बोधन गर्दै संघका उपाध्यक्ष रोविन शेरचनले गैरआवासीय नेपाली संघको पछिल्लो विवादका कारण काम गर्न निरुत्साहित पारेको बताउनु भयो । सहमति र सहकार्यले मात्र संस्था अघि बढ्न सक्ने बताउंदै राष्ट्रिय समितिमा भएका समस्याहरुको समाधान छलफल गरेर टुंगोमा पुर्याउनुपर्ने उहाँको भनाइ थियो ।

संघका सचिव पारसमणि पोखरेलले संघको गत अक्टोवरमा सम्पन्न निर्वाचनको परिणामलाई उपबिजेता समूहले स्वीकार गर्नुको विकल्प नरहेको बताए । उनले निर्वाचनको परिणाम चित्त नबुझे रिकाउन्टीङ हुन सक्ने तर पुनःनिर्वाचन हुन नहुने बताउनुभयो ।

संघका कोषाध्यक्ष सुदन थापाले गैरआवासीय नेपाली संघका राष्ट्रिय समिति र अन्तराष्ट्रिय समन्वय परिषदबीच नङ र मासुको सम्बन्ध रहेको भन्दै आगामी दिनमा मिलेर काम गर्न सबैलाइ आग्रह गर्नुभयो । उहाँले एनआरएनए जापानलाई सबै पक्षसंग समन्वयन गरेर अघि बढ्न सुझाव दिनुभयो ।

थापाले संस्थाभित्र भएका कमि कमजोरीहलाई सच्याएर अघि बढ्नपर्ने बताउनुभयो । कार्यक्रममा संघका निवर्तमान उपाध्यक्ष तथा निर्वाचन समितिका सदस्य भूषण घिमिरेले संघभित्र क्षेत्रीय समितिको अवधारणले आगामी दिनमा काम गर्न सजिलो हुने तर्क गर्नुभयो । उहाँले यसअघि क्षेत्रीय संयोजकको भरमा सम्मेलन हुने गरेको स्मरण गर्दै आगामी दिनमा क्षेत्रीय समितिले गर्ने बताउनुभयो ।

गैरआवासीय नेपाली संघ ठूलो हुदै जाँदा संसारभर छरिएका राष्ट्रिय समितिहरुलाई एउटै विधानमा बाँधेर लैजान चुनौति रहेको समेत उहाँको भनाइ थियो । घिमिरेले गत निर्वाचनमा प्रकृयागत रुपमा कुनै पनि त्रुटी नभएको भएपनि निर्वाचनको परिणाम घोषणा भैसकेपछिको समस्याको समाधान निकाल्न अप्ठ्यारो भएको बताउनुभयो ।

निवर्तमान उपमहासचिव ओम गुरुङले संस्थाका पछिल्ला गतिविधिहरूले नकारात्मक सन्देश दिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

दिपक कंडलेले सञ्चालन गरेको अन्तक्रिया कार्यक्रममा गैरआवासीय नेपाली जापानका पूर्वपदाधिकारी तथा आइसीसी सदस्यहरुको उपस्थिती रहेको थियो ।