२१ बैशाख २०८१, शुक्रबार
Follow Us

लन्डनमा मह जोडी र प्रकाश सपूतको भव्य कार्यक्रम, नचाए दर्शक

नेपालब्रिटेन डट कम्
८ पुष २०८०, आईतवार १६:२४

लन्डन – वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य तथा चर्चित कलाकार प्रकाश सपूत लगायतले नेपाली दर्शकहरुलाई नचाएका छन्।
शनिबार बेलुका ह्यारो लेजर सेन्टरमा आयोजित कार्यक्रममा मह जोडीले बेलायतका दर्शककै लागि भनेर तयार गरेका नयाँ प्याकेज प्रस्तुत गरेका थिए।
प्रसिद्ध अंग्रेजी गीत ‘जिङ्गल बेल’ गाउँदै गरेका हरिवंश आचार्य छोराको भूमिकामा थिए भने मदन कृष्ण बाबुको भूमिकामा। मदन कृष्णले आफ्ना सात पुस्तालाई पुग्ने सम्पत्ति आफुले कमाइ दिएको बताउंदै गर्दा ‘छोरा’ हरिवंशले चाहिँ भ्रस्टाचारको पैसा आफुलाई न चाहिने बरु बाबुलाई नै जेल पठाउने चेतवानी दिए। त्यस्तै गएको ४५ वर्षदेखि जोडी बनाएर काम गरिरहेका महले अर्को प्रहसन ‘प्रश्नोत्तर’ मा दिवंगत राजा बीरेन्द्रदेखि टिकटकका मालिकको जिज्ञासा चिनियाँ भाषामा प्रस्तुत गर्दै रोचक जवाफ पनि दिएका थिए।
७३ वर्षको उमेरमा पनि सक्रिय रहेका वरिस्ठ कलाकार मदन कृष्ण श्रेष्ठले ‘फुलबुट्टे सारी’ गीत गाउन थाले पछि दर्शकहरु स्टेज नजिकै गएर नाचेका थिए।
त्यस्तै चर्चित कलाकार हरिवंश आचार्यले ‘साझा बसमा जो पनि चढ्दछ’ लगायतका गीत सुनाए ।
चर्चित कलाकार प्रकाश सपूतले ‘डांडा घरे साइँली,’ फूलमाया लगायताका चर्चित गीतहरु गाएर दर्शकलाई नचाएका थिए।
कार्यक्रममा मदन कृष्णका छोरा यमन श्रेष्ठले ‘यमन मेरो नाउँ’ लगायतका गीत सुनाए भने छोरी सरना श्रेष्ठले ‘पानी छायाँ’ गीत गाउँदा मदन कृष्णले पनि साथ दिए। बेलायतमा बसोबास गर्ने गायिका शर्मिला बर्देवा लगायतका कलाकारले पनि रोचक प्रस्तुति दिएका थिए।

‘नेपाली समाजलाई दिशानिर्देश’

कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले यस्ता कार्यक्रमले नेपाल र बेलायतबीच जनस्तरको सम्बन्ध अरु बलियो बनाउने बताए। उनले गोर्खा सैनिकहरु दुइ देश बीचको ऐतिहासिक सम्बन्धको कडी हुन् भन्दै नेपाली समाजलाई दिशानिर्देश गर्ने काममा मह जोडी र प्रकाश सपूतले योगदान पुराई रहेको भन्दै प्रशंसा गरे।
कार्यक्रममा शुभकामना दिंदै लन्डन बरो अफ ह्यारोका मेयर काउन्सिलर रामजी चौहानले लन्डन विविधतामा एकताका लागि चिनिएको बताउंदै समाजलाई राम्रो बनाउन मिलेर काम गर्न आग्रह गरे।

वरिष्ठ कलाकारद्वय मह जोडी लगायतका कलाकारले आइतबार बेलुका अल्डरशटमा पनि प्रस्तुति दिंदै छन्।
कार्यक्रम आयोजक द गोर्खा सेन्टरका संस्थापक तथा सिइओ भिम तामाङले दर्शकहरुको न्यानो माया र सहभागिताबाट आफुहरु निकै उत्साहित भएको बताए ।
उनले अल्डरशटको कार्यक्रममा सहभागी हुन पनि सबै लाई आग्रह गरेका छन्।