२० बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनएद्वारा लुम्बिनी प्रदेशमा ब्लड मोबाइल बस हस्तान्तरण (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
१३ माघ २०८०, शनिबार ०१:३४

लण्डन । बाँकेमा रक्त संकलन घुम्ती बस सेवा सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले शनिवारदेखि रक्त संकलन घुम्ती बस सेवा संचालन गरेको हो ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले लुम्बिनी प्रदेशका लागि रक्त संकलन बस सेवा आज एक कार्यक्रमका बीच रेडक्रसलाई हस्तान्तरण गरेको हो । एनआरएनएका अध्यक्ष डा. बद्री केसीले रेडक्रस बाँके शाखाका सभापति गोवर्द्धन सिंह सम्झनालाई बसको चाँबी हस्तान्तरण गरेका थिए । बस सेवाको नेपालगन्ज उपमहानगरपालिकाका कार्यबहाक नगर प्रमुख कमरुद्दिन राई र डा. केसीले संयुक्तरुपमा शुभारम्भ गरेका हुन् ।

अत्याधुनिक सेवा सुविधा सहितको वातानुकुलित बस सेवामा प्राविधिक टिम, रगत संकलन कक्ष, भण्डारण फ्रीज, आराम कक्षको व्यवस्था छ । ग्रामीण इलाकामा पुगेर रगत संकलन गर्न सहजता पुगोस् भन्ने मुख्य उद्देश्यका साथ अहिलेसम्म लुम्बिनीसहित पाँच प्रदेशमा रक्त संकलन घुम्ती बस हस्तान्तरण गरिसकेको एनआरएनएका उपाध्यक्ष रामशरण सिंखडाले बताए । अब कर्णाली र गण्डकीमा बस हस्तान्तरण गरिने एनआरएनएले जनाएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका कार्यवहाक प्रमुख राईले सरकार पुग्न नसकेको ठाउँमा रेडक्रस पुगेको बताउँदै रक्त संकलन घुम्ती बस सेवाले मानवीय सेवामा अर्को आयाम थपिएको उल्लेख गरे । उनले बस सेवा सुरु भएपछि ग्रामीण क्षेत्रमा पुगेर रगत संकलन गर्न सहज हुने विश्वास व्यक्त गरे । एनआरएनएका अध्यक्ष डा। केसीले नेपालको विकास र समृद्धिका लागि एनआरएनले विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको बताउँदै लगानीमैत्री वातावरण बनाइदिन सरकारसंग आग्रह गरे ।

कार्यक्रममा गैर आवासीय नेपाली संघका सल्लाहकार टेकबहादुर कार्की, नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश महासचिव नवराज ढुंगाना, रक्तदाता संस्थाका तर्फबाट जनमत अर्धसाप्ताहिकका पूर्णलाल चुके, रेडक्रस बाँकेकी उपसभापति शान्ति श्रेष्ठ लगायतले बोलेका थिए ।कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष रामशरण सिमखडा, ओशिनिया क्षेत्रीय संयोजक दिनेश पोखरेल, हेमन्त काफ्ले आइसीसी सदस्य, सल्लाहकाहरु टिबी कार्की, भैरव ढकाल, भवानी ओली विधान संशोधन समितिका संयोजक, सन्तोष भट्टराई पूर्व युरोप क्षेत्रीय संयोजक र सत्यनारायण झा एनआरएनए माल्टा उपाध्यक्ष, संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत, अधिकृत कुनाल मिश्र, तिर्थ भट्टराई लगायतको विशेष उपस्थिति थियो ।

सातै प्रदेशमा मोबाईल ब्लड बस सेवा संचालन गर्ने नीति अनुरुप गैरआवासीय नेपाली संघले यसअघि कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश लगायतका प्रदेशमा सो मोबाइल ब्लड बस हस्तान्तरण गरेको थियो ।