१२ श्रावण २०८१, शनिबार
Follow Us

गठबन्धनका कारण अहिले देशमा ग्रहण लागेको छ: अध्यक्ष ओली

नेपालब्रिटेन संवाददाता
१७ माघ २०८०, बुधबार १३:४२

कामाडौं । पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनको कारण मुलुक गम्भीर अवस्थामा पुगेको आरोप लगाएका छन । आज बुधबार सिन्धुपाल्चोकका पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन ।

उनले एमाले सरकारमा जान हतार नगर्ने र गठबन्धनले काम गर्न नसके जुर्मुराउनुपर्ने बताएका छन । उनले ०८४ को निर्वाचनमा सम्पूर्ण ठाउँ एमालेले जित्नुपर्ने पनि बताएका छन । अध्यक्ष ओलीले गठबन्धनका कारण अहिले देशमा ग्रहण लागेको बताए । एमालेलाई छेक्न ८ वटा राजनीतिक दलहरु लागेको आरोप लगाएका छन ।

उनले गठबन्धनका दलहरुबाट देश बनाउने कुरा भन्दा गठबन्धन बनाउने र जोगाउने कुरा मात्तै बढी सुनिएको पनि बताएका छन । उनले भने, ‘हामी सरकारमा जाने हतार गर्दैनौँ । अब यिनीहरुले गर्न सकेनन् भने त हामीले फेरि उठ्न त परिहाल्छ । तर हामी मिसन ०८४ भनेर ०८४ को निर्वाचनमा सम्पूर्ण ठाउँ एमालेले जित्नुपर्छ । हरेक ठाउँ जित्नेगरी एमालेको तयारी हुनुपर्छ । सरकारमा हुने गठबन्धनेहरुलाई पनि भनिरहेको छु मैले । गम्भीर हुनुपर्ने अवस्था छ । यदि गम्भीर भएन भने देश बरबाद हुन्छ ।’

अध्यक्ष ओलीले विकासको काममा राजनीतिक आग्रह पूर्वाग्रह नराख्न आग्रह गरेका छन । योग्य मान्छेलाई सामाजिक क्षेत्रका जिम्मेवारी दिन उनले सुझाव दिए । अहिले गठबन्धनले क्षमता हरेर नभई गठबन्धने हो कि होइन भनेर जिम्मेवारी दिने गरेको उनले आरोप लगाएका छन ।