१२ श्रावण २०८१, शनिबार
Follow Us

आमाको आत्मदाह प्रयासमा छोरीको मृत्यु

नेपालब्रिटेन संवाददाता
६ फाल्गुन २०८०, आईतवार ०६:३३

काठमाडौं । झापामा आमाको आत्मदाह प्रयासमा छोरीको मृत्यु भएको छ । झापाको बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडाकी २८ वर्षीया माया रम्तेलले पाँच वर्षीया छोरी वर्षालाई शरीरमा बाँधेर आत्मदाह गर्दा छोरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सो प्रयासमा आमा गम्भीर घाइते भएकी पनि प्रहरीले जानकारी दिएको छ । शुक्रबार राति ८:३० बजेतिर मायाले आफ्नै शरीरमा पेट्रोल खन्याइ आगो लगाएकी थिइन् । घटनामा दुवै जना गम्भीर घाइते भएकाले उपचारका लागि बीएन्डसी अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिएका छन ।

शनिबार बिहान छोरी वर्षाको मृत्यु भएको र आमा मायाको अवस्था चिन्ताजनक रहेको गिरीले जानकारी दिएका छन । मायाको शरीरको अधिकांश भाग आगोले जलेको र घटनास्थल नजिकै उनको ‘सुसाइट नोट’ फेला परेको प्रहरीले जानकारी दिएको छ ।

उक्त नोटमा रम्तेलले उनका पति परस्त्रीसँग सम्बन्धमा रहेका कारण बाध्य भई आत्मदाहको निर्णय लिनुपरेको उल्लेख गरेको प्रहरीको भनाइ छ । प्रहरीले ज्याला मजदुरी काम गर्दै आएका मायाका पति राजन विकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको गिरीले जानकारी दिएका छन् ।