१२ श्रावण २०८१, शनिबार
Follow Us

छोरालाई बाहिर पठाएर श्रीमतीसहित ३ जनाको हत्या

नेपालब्रिटेन संवाददाता
९ फाल्गुन २०८०, बुधबार १३:४४

काठमाडौं । काठमाडौंको सिताइलामा ३ जनाको हत्या भएको प्रहरीले जानकारी दिएको छ । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका घर भई नागार्जुन नगरपालिका–६ भैरबटोलमा बस्ने राजु घिमिरे भन्ने काजी बिकले तीन जनाको हत्या गरेको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अनुसन्धान अधिकृतले जानकारी दिएका छन ।

मृत्यु हुनेमा ३८ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी छोरी ८ वर्षकी अनिशा श्रेष्ठ र साढे २ वर्षकी सिवानी श्रेष्ठ रहेको पनि प्रहरीले जानकारी दिएको छ । अनिषा ईश्वरीकी छोरी हुन् भने सिवानी नातिनी हुन् ।

ईश्वरीले काजीसँग दोस्रो विहे गरेको र शिवानी उनको यसअघिका श्रीमानबाट जन्मेका छोराको छोरी रहेको प्रहरीले जनाएको छ । यसअघि प्रहरीले दुबै छोरी रहेको बताए पनि अनुसन्धानका क्रममा शिवानी भने नातिनी भएको खुलेको प्रहरीले जनाएको छ । बरु ईश्वरीकी अहिलेको श्रीमानबाट एक छोरा रहेको र उनलाई काजीले पैसा लिन जाने बहानामा बाहिर पठाएर तीन जनाको हत्या गरेको खुलेको छ ।

कक्षा आठमा पढ्ने भनिएका ती बालकले प्रहरीलाई दिएको जानकारीअनुसार आफूलाई बुबाले पैसा लिन पठाएको र फर्केर आउँदा हत्या गरेको पाएको बताएका छन् । आफू कोठामा आइपुग्दा बुबाले घटनाबारे बताएको र मर्न जान्छु भनेर गएको उनले प्रहरीलाई बताएका छन् ।

बुधबार बिहान भएको उक्त हत्याको घटनापछि काजी नागार्जुनको जंगलमा झुण्डिएको अवस्थामा फेला परेका थिए । हत्यापछि काजीले ईश्वरीका आफन्तलाई समेत फोन गरेर घटनाबारे जानकारी दिँदै आफू पनि मर्न गइरहेको बताएको खुलेको प्रहरीले जानकारी दिएको छ ।

घटनापछि श्रीमान् पनि जंगलमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिएका छन ।

नागार्जुन नगरपालिका–६ भैरबटोलमा बस्ने उनीहरुबीच पारिवारित विवाद रहेको बताइएको छ । यस्तै काजीले ज्यामी काम गर्ने तथा अनुसन्धानका क्रममा श्रीमतीलाई हम्बर र बच्चालाई चक्कु प्रहार गरेको जस्तो देखिने मृत शरीरमा देखिएको घाउचोटको प्रकृतिले देखाएको छ । प्रहरीले घटनास्थलबाट हम्बर र चक्कु बरामद गरेको पनि प्रहरीले जानकारी दिएको छ।