१६ बैशाख २०८१, आईतवार
Follow Us

नेदरल्यान्ड्समाथि नेपाल ६ विकेटले विजयी

नेपालब्रिटेन संवाददाता
१९ फाल्गुन २०८०, शनिबार १३:५३

काठमाडौं । टी- २० अन्तर्राष्ट्रिय त्रिकोणात्मक क्रिकेट शृंखलाको चौथो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको छ । लगातार दुई खेल जित्दै नेपालले शृंखलाको फाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । कप्तान रोहितकुमार पौडेल र गुल्शन झाको उत्कृष्ट साझेदारीले त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै नेपालले फाइनल पुग्ने बाटो बलियो बनाएको हो ।

टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १२० रन बनाएको थियो । घरेलु टोलीले १५.२ ओभरमा ४ विकेट गुमाएर नेदरल्यान्ड्सले दिएको १२१ रनको लक्ष्य पूरा गर्‍यो ।

नेपालका कप्तान पौडेल र गुल्सन झाले ६६ बलमा ८६ रनको साझेदारी गरे । पौडेलले ३४ बलमा ४६ रन बनाए भने झाले ३६ बलमा ३८ रन बनाए । ओपनर कुशल भूर्तेलले १२ र आसिफ शेखले आठ रन बनाए । दीपेन्द्रसिंह ऐरीले अविजित चार र कुशल मल्लले अविजित दुई रन बनाए । बलिङमा नेदरल्यान्ड्सका भिभियन किङ्माले तीन विकेट लिए भने आर्यन दत्तले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय २० रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि म्याक्स ओडोडले सर्वाधिक ३१ रन बनाए ।

यस्तै टिम भानले २४, रोयलफ भानले २३ र कप्तान स्कट इडवार्डले १८ रन बनाए । बलिङमा नेपालका प्रतिश जिसीले तीन विकेट लिए भने करण केसी र कुशल मल्लले दुई-दुई तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिएका थिए ।

आइतबार नेदरल्यान्ड्स र नामिबियाको खेल हुनेछ । उक्त खेलमा नेदरल्यान्ड्स विजयी भएमा नेपाल सहजै फाइनल पुग्नेछ । यदि नामिबिया विजयी भएपनि नेपालको अघिल्लो यात्रा नेट रनरेटमा भर पर्नेछ ।