२६ बैशाख २०८१, बुधबार
Follow Us

राष्ट्रियसभामा अध्यक्षसहित २० सांसदहरू भोलिदेखि बिदा हुँदै

नेपालब्रिटेन संवाददाता
१९ फाल्गुन २०८०, शनिबार १३:५६

काठमाडौं । भोलि आइतबारदेखि राष्ट्रियसभाका अध्यक्षसहित २० सांसद राष्ट्रिय सभाबाट बिदा हुँदैछन् । ०७४ सालमा निर्वाचित भएर ६ वर्ष कार्यकाल बिताएका उनीहरू आइतबारदेखि बिदा हुन लागेका हुन् ।

बिदाइ हुन लागेकाहरूमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमालेका सांसदहरू दीपा गुरुङ, इन्दु कडरिया, दीलकुमारी रावल थापा, पार्वती, कुमार दसौंदी, नरपति लुवार, भैरवकुमार श्रेष्ठ र रामचन्द्र राई बिदा हुँदैछन् ।

यस्तै कांग्रेसबाट चार सांसदहरु बिदा हुँदै छन् । कांग्रेसबाट रमेशजंग रायमाझी, अनिता देवकोटा, जितेन्द्रनारायण देव र प्रकाश पन्थ बिदा हुँदै छन् भने माओवादी केन्द्रका तीन सदस्य विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा बिदा हुँदै छन् । यता नेकपा एसबाट नन्दा चापाई र सिंगबहादुर विश्वकर्मा, जसपाबाट प्रमीलाकुमारी, स्वतन्त्र सांसद खिमलाल देवकोटा र राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्याल पनि बिदा हुँदै छिन् ।

उनीहरूको ठाउँमा हुने रिक्तता पूर्तिका लागि यसअघि नै माघ ११ मा भएको राष्ट्रियसभाको निर्वाचनबाट १९ सदस्य निर्वाचित भइसकेका छन् । फागुन २१ गते उनीहरूको शपथको कार्यक्रम राखिएको छ भने एकजना सदस्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुन बाँकी छ ।

२०७४ सालमा नयाँ संविधान जारी भएपछि भएको राष्ट्रियसभाको निर्वाचनबाट ५६ जना सदस्य निर्वाचित भएका थिए भने ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका थिए । निर्वाचनपछि राष्ट्रियसभाका ५९ सदस्यहरूको कार्यअवधि गोला प्रथाबाट निर्धारण गरिएको थियो । उनीहरूको २ वर्ष, ४ वर्ष र ६ वर्ष गरी ३ प्रकारको कार्यकाल तय गरिएको थियो ।

२ र ४ वर्ष कार्यकाल पूरा गरेकाहरू बिदा भइसकेका छन् भने ६ वर्ष कार्यकालको समय पाएका २० सांसदको आइतबारदेखि बिदाइ हुन लागेको हो । उनीहरूको बिदाइका लागि संघीय संसद् सचिवालयले आइतबार साँझ बिदाइ कार्यक्रम राखेको सहप्रवक्ता दशरथ धमलाले जानकारी दिएका छन ।