१५ बैशाख २०८२, सोमबार
Follow Us

बहुमत पुर्‍याउन विवादित मान्छेसँग गठबन्धन गर्नु परेको छ: उपाध्यक्ष भुसाल

नेपालब्रिटेन संवाददाता
२५ फाल्गुन २०८०, शुक्रबार १३:५०

काठमाडौं । माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले वर्तमान गठबन्धनमा विवादित मान्छे पनि रहेको बताएकी छन । आज शुक्रबार अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै भुसालले यस्तो बताएकी हुन । उनले वर्तमान सत्ता गठबन्धन शुद्ध नभएको पनी बताएकी छन ।

उनले बहुमत पुर्‍याउनका लागि विवादित मान्छेसँग गठबन्धन गर्नुपरेको दाबी गरेकी छन । उनले विवादित मान्छेमा कुनै कमजोरी देखिएमा छुट नदिने प्रतिबद्धता गरेर नयाँ गठबन्धन सरकार बनाइएको पनि बताएकी छन ।

उनले भनिन्, ‘संयोगले एउटा नयाँ सहमति बन्यो र गठबन्धन भयो। त्यो पनि शुद्ध त छैन, अब जीवन, व्यवहारले पुष्टि गर्छ। केही मान्छे त विवादित छन् नि१ तर पनि हाम्रो संख्या पुग्दैन। गठबन्धन गरेर बहुमत पुर्‍याउनुपर्छ, यो बाध्यता हुन्छ।

तर त्यहाँ पनि कुनै गल्ती, कमजोरी देखिएमा नछोप्ने, छुट नदिने प्रतिबद्धता गरेर नयाँ गठबन्धनको सरकार भएको छ ।’ उनले सत्ता गठबन्धनलाई विभिन्न विदेशीको कार्ड भनेर राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा तरंगित गरिएको भन्दै सो गठबन्धन यहीँका दल र नेताहरुले बनाएका बताएकी छन ।

उनले शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक क्षेत्रमा परिवर्तनको अनुभूति दिलाउने संकल्पसहित गठबन्धन बनाएको उल्लेख गर्दै त्यो पूरा नभए यही गठबन्धनमा बसिरहने कुरा नहुने बताएकी छन ।