१९ बैशाख २०८१, बुधबार
Follow Us

इलाम–२ मा एमालेबाट सुहाङसहित ६ जनाको नाम सिफारिस

नेपालब्रिटेन संवाददाता
४ चैत्र २०८०, आईतवार १३:४६

काठमाडौं । आगामी १५ वैशाखमा हुने प्रतिनिधि सभाको उपनिर्वाचनको लागि इलाम–२ मा एमाले बाट ६ जनाको नाम सिफारिस भएको छ ।

केन्द्रीय कमिटीले एक महिलासहित ३ जनाको नाम सिफारिस गर्न भने पनि इलाम जिल्ला कमिटीको आइतबार बसेको सचिवालय बैठकले ६ जनाको नाम सिफारिस गरेको एक नेताले जानकारी दिएका छन ।

सिफारिस हुनेमा सुहाङ नेम्वाङ, रवीन्द्र सुवेदी, बुद्धि खनाल, नरेन्द्र भट्टराई, रिपल राई र देवी क्षेत्री दुलाल रहेका छन् । हिजो (शनिबार) पार्टी कार्यालय इलाममा आकांक्षीहरू बीच सहमति जुटाउने उद्देश्यले बैठक राखिए पनि कसैले आवेदन फिर्ता लिन मानेनन् ।

आइतबार पनि सहमतिको प्रयास विफल नभएपछि सबै जनाको नाम केन्द्रीय कमिटीमा सिफारिस गरिएको जिल्ला सचिव उमेश गुरुङले जानकारी दिएका छन ।

जिल्ला कमिटीको बैठकमा मतदानबाट उम्मेदवार चयन गर्ने छलफल भए पनि पार्टीमा योगदान दिएका नेता निरुत्साहित हुन सक्ने भएकाले सबैको नाम केन्द्रमा पठाइएको उनको भनाइ छ । गुरुङले भने ‘समयको माग र कमरेडहरूको योगदानका आधारमा जिल्ला कमिटीले कसैको नाम काँटछाँट नगरेको हो ।’