२१ बैशाख २०८१, शुक्रबार
Follow Us

बेल्जियमको राज्य सरकारसंग एनआरएनए बारे छलफल

नेपालब्रिटेन डट कम्
६ चैत्र २०८०, मंगलवार २१:१३

लुभेन । गैरआवासीय नेपाली संघ बेल्जियमकी महासचिव रुविना शर्माले यहाँस्थित एक राज्य सरकार समक्ष गैरआवासीय नेपाली संघको विषयमा आफ्ना धारणा राखेकी छन् ।

ब्रसेल्सस्थित फेलेमिस् राज्य परिषदको संघसँस्था विभागद्धारा सोमबार आयोजित कार्यक्रममा महासचिव शर्माले गैरआवासीय नेपाली संघको स्थापना, संरचना, एमआइएस सिस्टम, अनलाइन भोटिङ र उद्देश्यका बारेमा पहिलो पटक संस्थागत रुपमा राज्य परिषदमा आफ्नो प्रस्तुति दिएकी हुन् ।

राज्य परिषदको बैठकमा शर्माले संघको अन्तराष्ट्रिय परिषद र राष्ट्रिय परिषदको सम्बन्ध एवं संस्थागत संरचनाको चर्चा गर्दै संघ स्थापनाको दुई दशकमा नेपालमा लगानी, परोपकार, आप्रवासी नेपालीहरुको पक्षमा विभिन्न काम गर्दै आएको जानकारी गराएकी थिइन् ।

बेल्जियमको फेलेमिस् राज्यमा रहेका एक दर्जन सामाजिक संघसंस्थाको उपस्थिति रहेको कार्यक्रममा उनले नेपाली भाषा, संस्कृति र नेपाली समुदायको आवश्यक कार्यक्रम हल, खेल मैदान लगायत उपलब्ध गराई सहयोग गरिदिन आग्रह गरेकी थिइन् ।

शर्माले संघीय सरकारका कयौं नीति तथा कानूनहरुका कारण संघसंस्था दर्ता प्रकृया झन्झटिलो भएको भन्दै सहज र सरल बनाउन समेत आग्रह गरिन् ।

महासचिव शर्माले आफ्नो काम सम्पूर्ण क्षेत्रमा हुने भएपनि केही शहरमा मात्र पहिचान भएको र एउटा सामाजिक सांस्कृतिक विभागका लागि मात्र अनुदान पाउने उल्लेख गर्दै संघसंस्थाले पाउने थप सेवासुविधाबारे पनि चासो राखेकी थिइन् ।

बैठकमा संस्कृति, युवा तथा मिडिया विभागको तर्फबाट व्यापार विश्लेषक डिडियर क्लासेन्सले बेल्जियमस्थित सामाजिक संघसंस्था सञ्चालन तथा परिचालन विषयमा जानकारी दिएका थिए । उक्त कार्यक्रममा अरु चारजना व्यापार विश्लेषक समेत सहभागी थिए ।

पहिलोपटक बेल्जियमस्थित विभिन्न समुदायका छाता संघसँस्थाबीच भएको छलफलमा संघसँस्था परिचालन, मिडिया तथा व्यापार विज्ञ, संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति थियो ।

एसोसिएसन डेस्क संघसंस्थाका लागि सरकारी सेवाहरूको डिजिटल गेटवे हो जसले थप कार्यक्षमता र सरकारी सेवाहरू चरणबद्ध रूपमा उपलब्ध गराउनेछ ।