१४ असार २०८१, बिहीबार
Follow Us

न्यूजील्याण्डलाई हराउदै वेस्ट इण्डिज सुपर आठमा

नेपालब्रिटेन संवाददाता
३१ जेष्ठ २०८१, बिहीबार ०७:१६

काठमाडौँ । वेस्ट इन्डिज जारी टी-२० विश्वकपको सुपर ८ मा पुगेको छ । विहिबार बिहान सम्पन्न समुह सी अन्तर्गतको खेलमा वेस्ट इन्डिजले न्यूजील्याण्डलाई १३ रनले पराजित गरेसँगै विश्वकपको सुपर आठमा पुगेको हो ।

वेस्ट इन्डिजले दिएको १५० रनको लक्ष्य पछाएको न्यूजील्याण्डले २० ओभरमा ९ विकेट गुमाउदै १३६ रन मात्र बनाएको थियो ।

न्यूजील्याण्डका लागि ग्लेन फिलिपले सर्बाधिक ४० रन बनाए भने फिन एलेनले २६ तथा मिचेल सान्टनरले अविजित २१ रन बनाएका थिए । त्यस्तै वेस्ट इन्डिजका बलर अल्जारी जोसेपले ४ र गुडाकेश मोतिले ३ विकेट लिएका थिए ।

यस अघि पहिला ब्याटिंग गरेको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाउदै १४९ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि शेरफान रुथरवूडले सर्बाधिक ६८ रन बनाएका थिए । त्यसैगरी न्यूजील्याण्डका बलर ट्रेन्ट बोल्टले ३ तथा टिम साउथी र लुकी फर्गुसनले २-२ विकेट लिएका थिए ।

यो जितपछि वेस्ट इन्डिजले लगातार तीन खेलमा जित हासिल गरेर ६ अंक सहित समुह सी बाट सुपर आठमा आफ्नो स्थान सुरक्षित गरेको छ । त्यस्तै न्यूजील्याण्डले भने लगातार दोस्रो हार बेहोरेको छ र सुपर आठको यात्रा संकटमा परेको छ । यस समुहमा अफगानिस्तानले २ खेलमा दुवै जित हासिल गरेर ४ अंक बटुल्दै दोस्रो स्थानमा रहेको छ ।

अब अफगानिस्तानले शुक्रबार पिएनजीविरुद्धको खेलमा जित हासिल गरेमा सुपर आठमा पुग्ने छ भने न्यूजील्याण्ड सुपर आठको दौडबाट बाहिरिने छ ।

न्यूजील्याण्डले अब तेस्रो खेल शनिबार युगान्डासँग खेल्ने छ । त्यस्तै वेस्ट इन्डिजले भने जुन १८ मा अफगानिस्तानसँग खेल्ने छ ।