२५ असार २०८२, बुधबार
Follow Us

यूकेवासी पहिचान पक्षधरहरूले कुमार लिङ्देनको मञ्च त्यागे, नयाँ संस्था गठन

नेपालब्रिटेन डट कम्
२४ असार २०८१, आईतवार १९:३७

लण्डन । यूकेबाशी पहिचानपक्षधरहरूले कुमार लिङ्देन अध्यक्ष रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च त्यागी नयाँ संगठन निर्माण गरेका छन्।

यूकेमा राष्ट्रिय पहिचान परिषद् प्रवास यूकेको गठन भएको हो। देबी बहादुर तुम्बाहाङ्फेको अध्यक्षतामा ४५ केन्द्रीय सदस्य सहित राष्ट्रिय पहिचान परिषद् प्रवास यूकेको केन्द्रीय समिति गठन गरिएको छ।

६ जुलाई आइतबार लण्डनको फेल्थममा भएको भेलाले गठन गरेको समितिमा उपाध्यक्षहरू रूपमान कुरुम्बाङ, यधुचन्द्र लावती, कुलदीप राई, कृष्णप्रसाद लिङ्देन, जगत सुहाङ, तेजप्रकाश लावती, खड्गजङ आङ्बुहाङ, रुद्र प्रसाद श्रेष्ठ, रामकुमार पोमु, चन्द्रकला आवाजुङ, हर्कजङ कुरुम्बाङ रहेका छन्।

महासचिवमा लाल बहादुर लिङ्देन र उपमहासचिव दीपक तुम्बापो चुनिए। सचिवहरूमा तिलबिक्रम तावा, दिलबहादुर तुम्बाहाङ्फे, शेर बहादुर इङ्नाम, दल योङ्या, किशोर तिलिङ चोङ्बाङ र धनबहादुर माबो छन्।

कोषाध्यक्षमा थानकुमान नाल्बो र सह-कोषाध्यक्ष दुर्गा खापुङ छन्। सचिवालय सदस्यहरूमा चुडामणि तुम्बाहाङ्फे, टंक खापुङ, राम इजम र नरबहादुर कुरुङबाङ, चन्द्रबहादुर लिङ्देन र कृष्णबहादुर कुरुङवाङ चुनिए।

यसअघिको सेसनमा पार्टीको नेतृत्वले विधि, प्रक्रिया, र आर्थिक पारदर्शिता नदेखाएको र निजी सम्पत्तिको हैसियतमा सञ्चालन गरेको लगायतका मुद्दामा आपत्ति जनाउँदै सबै सदस्यहरूले पार्टी परित्याग गरेका थिए।

संघीय लोकतान्त्रिक सामाजिक मञ्चका अध्यक्ष देबीबहादुर तुम्बाहाम्फेले आफ्नो मन्तव्य सहित मञ्चको विघटनको घोषणा गरेका थिए। महासचिव राम ईजको प्रस्तावमा संघीय लोकतान्त्रिक सामाजिक मञ्च, संघीय लिम्बुवान सामाजिक मञ्च नेपाल परित्यागको घोषणा सर्वसम्मतले पारित गरिएको थियो।

राष्ट्रिय पहिचान परिषद् प्रवास यूकेका अध्यक्ष देबी बहादुर तुम्बाहाङ्फेले सबैको पहिचानलाई बराबर सम्मान दिने बताउँदै कुमार लिङ्देनको कार्यशैली, व्यवहार र नेतृत्वको आलोचना गरे।

२०६२ सालमा स्थापित संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्र्तगत यूकेमा सन् २००७ मा संघीय लोकतान्त्रिक सामाजिक मञ्च यूके र सन् २०१२ मा संघीय लिम्बुवान सामाजिक मञ्च यूके प्रवास समिति स्थापना भएको थियो । पार्टीका यूकेबाशी अगुवा नेता र कार्यकर्ताले पार्टीको मूल मुद्धामाथि कुठाराघात गरेको भन्दै सामुहिक पार्टी परित्याग गरेका हुन् ।


तस्वीरहरू : देवी गौतम

धेरै पढिएको