३२ असार २०८२, बुधबार
Follow Us

पदमुक्त भए प्रधानमन्त्री प्रचण्ड

नेपालब्रिटेन संवाददाता
२९ असार २०८१, शुक्रबार १३:३२

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा पेश गरेको विश्वासको मतको प्रस्तावको पक्षमा केवल ६३ मत मात्र परेपछि प्रधानमन्त्रीले संसदको विश्वास गुमाएसँगै पदमुक्त भएका हुन् । विश्वासको मतसम्बन्धि प्रस्तावको विपक्षमा १९४ मत परेको थियो । त्यस्तै मत दिन्न भन्ने पक्षमा एक सांसदले मत दिएका थिए ।

आजको मतदान प्रक्रियामा २५८ सांसदले भाग लिएका थिए ।

प्रधानमन्त्रीले संसदबाट विश्वासको मत गुमाएसँगै सरकार पनि ढलेको छ । अब संघीय संसद सचिवालयले सरकारले विश्वासको मत गुमाएको जानकारी राष्ट्रपति रामचन्द्र पौडेललाई गराएसँगै राष्ट्रपतिले नयाँ सरकार गठनको आव्हान गर्ने छन् ।

राष्ट्रपतिलाई भेटेर सिधै खुमलटार लागे ‘प्रचण्ड’
निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेका छन् । संसद भवनमा विश्वासको मत प्राप्त गर्न नसकेपछि उनी शीतल निवास गएका थिए ।

राष्ट्रपतिलाई भेटेर केही बेरअघि उनी निस्किएको स्रोतले बतायो । उनी त्यहाँबाट बालुवाटार नगई सिधै खुमलटार लागेका छन् । उनी सरकारी गाडीमा झण्डा हल्लाएरै निस्किएका थिए ।

‘प्रचण्ड’ले सरकारी निवास बालुवाटार आजै छोडेका हुन् । खुमलटारमा ‘प्रचण्ड’को निजी निवास छ । केही दिन अगाडिबाटै बालुवाटारबाट सामान ओसार्न थालिएको थियो । ‘प्रचण्ड’ आज संसद भवनबाट पेरिसडाँडा गएर जनताका नाममा सम्बोधन गर्ने कार्यक्रम थियो । उक्त कार्यक्रम भने रद्द गरिएको छ ।

धेरै पढिएको