लण्डन । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले विदेशमा बस्ने नेपाली र नेपाल सरकार समेतको सहकार्यमा सबैभन्दा ठूलो लगानी कम्पनी सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।
गैरआवासीय नेपाली संघ यूरोपको संयोजनमा लेष्टरमा मंगलबार(२७ अगष्ट,२०२४) आयोजित ‘एनआरएनएका आधार, नागरिकता र सम्पतिको अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा. केसीले विदेशमा बस्ने नेपालीहरुले आर्जन गरेको पूँजीले नेपालमै पहिलोपल्ट सबैभन्दा ठूलो लगानी कम्पनी सुरु गर्न लागिएको बताउनुभएको हो ।
डा. केसीले भन्नुभयो, ‘विदेशमा अहिले रहेका ६० लाख नेपालीले थोरै लगानी गर्दा पनि ठूलो रकम जम्मा गर्न सकिन्छ भनेर एनआरएनए डेभलप्मेन्ट फण्डको स्थापना गरिएको हो । जुन अब छिट्टै सञ्चालनमा आउँदैछ ।
नेपाल सरकारको समन्वय तथा सहकार्यमा नेपालभित्र करीब १० अर्ब बराबरको लगानी भित्र्याउन (नेपाल सरकारको ५ प्रतिशत र गैरआवासीय नेपालीको ९५ प्रतिशत) लगानीसहित स्थापना भएको कोष ‘एनआरएन नेपाल डेभलपमेण्ट फण्डमा विदेशमा बस्ने गैरआवासीय नेपालीहरुले लगानी गर्न आफ्नो स–सानो लगानी गर्न समेत बताउनुभयो ।
एनआरएनए डेभलपमेण्ट फण्डको स्थापना अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप अघि बढ्ेको डा केसीको भनाई थियो । उहाँले भन्नुभयो, र त्यसलाई कमसेकम सिंगापुरको शेयर बजारमा सूचीकृत गर्न प्रयास गर्ने तयारी छ त्यसपछि विदेशी शेयर बजारमा सूचीकृत हुने यो पहिलो नेपाली कम्पनी हुनेछ । डा. केसीले गैरआवासीय नेपालीहरुको लगानीमा शुरु हुने सो कम्पनी नेपालकै ठूलो र पारदर्शी कम्पनी हुने दावी गर्नुभयो ।
अर्को प्रसंगमा अध्यक्ष डा केसीले गैरआवासीय नेपालीहरु एक भएमात्रै पूर्णअधिकार सहितको नागरिकता स्थापित गर्न सम्भव हुने बताउनुभयो । डा. केसीले अब संविधान संशोधन हुँदा गैरआवासीय नेपालहरुलाई पूर्णअधिकार सहितको नागरिकताको व्यवस्था गर्न माग गर्नुभयो ।
कार्यक्रममा गैरआवासीय नेपाली संघकी उपाध्यक्ष रोजिना प्रधान राई, सचिव टिका गुरुङ, एनआरएनए अभियान्ता पशुपति पोखरेल, यूरोप उपसंयोजक महेश अधिकारी, रास्वपा युके अध्यक्ष पवन शर्मा, लगायतले आआफ्ना विचार व्यक्त गरेका थिए । कार्यक्रमको संचालन गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य विष्णु चालिसेले गर्नभएको थियो ।