लण्डन। आइतवार बेल्जियममा हुने स्थानीय निर्वाचनमा गैरआवासीय नेपाली उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ।
विभिन्न नगरपालिका, जिल्ला र क्षेत्रमा फरक-फरक पार्टीबाट नेपाली मूलका उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएपछि नेपाली उम्मेदवारले आफैंलाई हराउने अवस्था सिर्जना भएको हो।
एन्तवेरपेन र तिनेन नगरपालिकामा एक-एक जना नेपाली मूलका उम्मेदवार छन् भने लुभेन र ब्रुगे नगरपालिकामा फरक पार्टीबाट एकभन्दा बढी नेपाली उम्मेदवार छन्।
लुभेन नगरपालिकाको सदस्य पदका लागि क्रिस्चियन डेमोक्र्याटिक पार्टी (सिडिएनभे) बाट कृष्ण क्षेत्री, सामाजवादी पार्टी भोअइतबाट सूर्य ढकाल, र कम्युनिस्ट पार्टी पेभेडेआबाट बिरमान घर्ती मगर उम्मेदवार छन्। यीमध्ये नेपाली समुदायले एक जनालाई मात्र मतदान गर्न सक्छन्।
ब्रुगेमा सिडिएनभेबाट प्रज्ञा तिमिल्सिना, भोअइतबाट रमेश कंडेल, र भूर ब्रुगे स्थानीय पार्टीबाट घनश्याम काफ्ले उम्मेदवार छन्। ब्रुगेमा पनि नेपाली उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुने भएको छ।
थोरै नेपालीको बसोबास भएको तिनेनमा तिनेन अन्दर्स गठबन्धनका उम्मेदवार बुद्ध बस्नेत, सेन्टनिक्लास नगरपालिकामा लिबरल पार्टीबाट पहिलो पटक उम्मेदवार बनेका अनमोल केसी, र एन्तवेरपेनमा सिडिएनभेबाट श्याम श्रेष्ठ उम्मेदवार छन्।
५८१ नगर र गाउँपालिका लगायत जिल्ला र क्षेत्रका प्रतिनिधि चयन गर्न आइतवार निर्वाचन हुँदैछ। गैरआवासीय नेपाली संघ बेल्जियमकी महासचिव रुविना शर्माले स्थानीय निर्वाचन नेपाली समुदायको लागि ठूलो अवसर भएको बताइन् । उनले बेल्जियमको मूलधारको राजनीतिमा नेपालीहरुले प्रवेश गर्न यो निर्वाचन कोशेढुंगा सावित हुन सक्ने बताइन् ।