काठमाडौँ । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओलीबाट यही मङ्सिर १७ देखि २० गतेसम्म हुने चीनको औपचारिक भ्रमणको तयारी तीव्र गतिमा जारी छ । प्रधानमन्त्रीको यो भ्रमणले नेपाल र चीनबीच सरकारी र जनस्तरमा विद्यमान सुमधुर सम्बन्ध नयाँ उचाइमा पुग्ने अपेक्षा दुवै देशका नागरिकले गरेका छन् ।
भ्रमणको पूर्वसन्ध्यामा सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली काँग्रेसका शीर्ष दल र संयन्त्रस्तरमा विभिन्न चरणमा ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बिआरआई) लगायत दुई मुलुकका सहयोग र सहकार्यका सम्भावित विषयमा घनीभूत छलफल भएको छ ।
चीन भ्रमणमा केन्द्रित रहेर प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र काँग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरुबीच छलफल भएको छ । आजै प्रधानमन्त्री ओलीको उपस्थितिमा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलका सदस्यहरुसँँग पनि विमर्श भएको छ । त्यस क्रममा प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्धलाई अझ सुमधुर बनाउने भ्रमणको मूल उद्देश्य भएकाले त्यसलाई पूरा गर्न सबैले आफ्नो स्थानबाट सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिए ।
“हाम्रो चीन भ्रमण सफल हुनेछ । हामी त्यसकै निम्ति भगीरथ प्रयास गर्छौँ ।”, प्रधानमन्त्री ओलीले भने, “राष्ट्रको गरिमा बढाउन र दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउनेमा हाम्रो ध्यान केन्द्रित हुनेछ ।”
परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई, शिष्टाचार महापाल विष्णुप्रसाद गौतम र उक्त मन्त्रालयका प्रवक्ता एवं उत्तर पूर्वी एसिया महाशाखा प्रमुख कृष्णप्रसाद ढकालले क्रमशः दुई पक्षीय सम्बन्धका समग्र पक्षका साथै कूटनीतिक व्यवहार, शिष्टाचार एवं समारोह र बिआरआई फ्रेमवर्क’ बारे जानकारी दिएका थिए ।
प्रवक्ता ढकालले सम्पर्क सञ्जाल विस्तार, लगानी, व्यापार, पर्यटन, कृषि र पूर्वाधार विकासलगायत क्षेत्रमा सहयोग र सहकार्यका विषयमा चिनियाँ पक्षसँग घनीभूत छलफल हुने बताए ।
प्रधानमन्त्री ओलीले चीन भ्रमणको तयारीका क्रममा यही मङ्सिर १० गते पूर्वप्रधानमन्त्रीहरु र पूर्वपरराष्ट्रमन्त्रीहरुसँग छलफल गरेका थिए । यही मङ्सिर १३ गतेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको चीन भ्रमण र त्यसमा सम्मिलित प्रमण्डल स्वीकृत गरेको हो ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग बेइजिङमा शिष्टाचार भेट गने कार्यक्रम छ भने आफ्ना चिनियाँ समकक्षी लीसँग प्रतिनिधिमण्डल स्तरीय वार्ता गनेछन् ।
प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकाँग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीले पनि भेटवार्ता गर्ने कार्यक्रम छ । उनले पेकिङ विश्वविद्यालयमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ भने बेइजिङस्थित नेपाली राजदूतावास चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने नेपाल-चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रतिनिधिमण्डलमा प्रधानमन्त्री पत्नी राधिका शाक्य परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, संघीय संसद्का सदस्यलगायत रहनेछन् ।