काठमाडौं । नेपालमा पहिलो पटक एक जनामा ‘मंकीपक्स’ पुष्टि भएको छ । साउदी अरेबियाबाट फर्किएका एक नेपालीमा मंकिपक्स पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
मंकिपक्स देखिएका ती बिरामीको टेकु अस्पतालमा उपचार भइरहेको पनि स्रोतले जानकारी दिएको छ । यसअघि गत असार १ गते एकजना विदेशी महिलालाई मंकीपक्स पुष्टि भएको थियो । नेपालीलाई मंकीपक्स देखिएको यो पहिलो घटना हो ।
अस्पताल स्रोतका अनुसार अहिले ती बिरामीको अवस्था सामान्य रहेको छ । उनीसँग सम्पर्कमा आएका अन्य व्यक्तिसँग ट्रेसिङ भइरहेको मन्त्रालयका एक अधिकृतले जानकारी दिएका छन ।
चिकित्सकहरूका अनुसार एसपक्स रोग मंकीपक्स भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो । एमपक्स मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्ने गर्दछ । यो पोक्सभिरिडे परिवारको अर्थोपक्स भाइरस जिनस अन्तर्गत पर्ने डबल स्ट्रन्डेड डीएनए भाइरस हो । मंकीपक्सका लक्षण बिफरसँग मिल्दाजुल्दा हुन्छन् ।
यद्यपि बिफरको तुलनामा मंकिपक्स कम गम्भीर र विरलै घातक हुन्छ । विश्वव्यापी बिफर खोपको अन्त्यपछि मंकीपक्स मध्य, पूर्वी र पश्चिम अफ्रिकामा निरन्तर रूपमा देखा परिरहेको छ ।
मंकीपक्सले २०२२–२०२३ मा विश्वव्यापी प्रकोपको रूप लिएको छ । तर यो भाइरसको प्राकृतिक भण्डार अज्ञात छ । विभिन्न साना स्तनपायी जनावर (लोखर्के, बाँदर) बाट भाइरस सर्ने गर्छ ।