२९ पुष २०८१, सोमबार
Follow Us

एनआरएनए अभियानमा तमुहरूको महत्वपूर्ण भूमिका : डा. हेम राज शर्मा

नेपालब्रिटेन डट कम्
१३ पुष २०८१, शनिबार १९:४५

लण्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले विदेशमा रहेका तमु समुदायको एनआरएनए अभियानमा महत्वपूर्ण भूमिका रहेको बताएका छन्।

शनिवार लण्डनमा तमुधीं यूकेको रजत महोत्सवलाई सम्बोधन गर्दै डा. शर्माले भने, “तमुधीं यूके एनआरएन भन्दा पनि बलियो संस्थाको रूपमा स्थापित भएको छ र यसले केवल तमुहरूको धरोहर मात्र नभएर सम्पूर्ण नेपाली समुदायको धरोहर बनेको छ।”

उनले थपे, “तमुधींले विश्वभर छरिएका तमु समुदायलाई एकताबद्ध गर्ने, र परम्परा तथा संस्कृतिलाई विदेशमा जर्गेना गर्ने काम गर्दै आएको छ।”

डा. शर्माले तमुधीं यूकेको विभिन्न कार्यक्रम जस्तै गोर्खाकप र नेपाली मेला मार्फत विश्वभरका सबै समुदायका मानिसलाई जोड्न सफल भएको उल्लेख गरे।

“तमुधीं यूकेको कार्यसमितिको कार्यशैली पनि प्रशंसा योग्य छ,” उनले भने। साथै, उनले थपे, “तमुधींबाट अन्य सबै संघसंस्थाले सन्देश लिनुपर्ने कुरा हो।”

डा. शर्माले यो पनि भने कि, “तमु समुदायको सहयोग बिना एनआरएनए अभियान अपुरो हुने छ।” उनले एनआरएनए यूकेका पाँच जना कार्यसमिति सदस्य र संघको केन्द्रीय अध्यक्ष शेष घलेको नाम लिई तमु समुदायको योगदानलाई स्मरण गर्दै, “कोरोना महामारी र परोपकारी कार्यमा पनि तमु समुदायको उल्लेखनीय भूमिका रहेको छ।”

उनले भने, “जस्तै तमुधीं यूकेमा नयाँ नेतृत्व चयन गरिएको छ, त्यस्तै एनआरएनए भित्र पनि हार-जीतनभै, समन्वय र एकता पुर्याएर नेतृत्व चयन गर्नु आवश्यक छ।”