लण्डन । गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले अब दश वर्ष नेपाल बस्दा निःशुल्क भिसा पाउने भएका छन् ।
सरकारले गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले दश वर्ष नेपाल बस्दा निःशुल्क भिसा पाउने गरी कानुन संशोधनको तयारी गरेको छ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गैरआवासी नेपालीहरूलाई लगानी सहजताका लागि आवश्यक कानुन संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्बाट पारित भएको अध्यादेश राष्ट्रपति प्रमाणीकरण भएसँगै यस्तो कानुनी व्यवस्था कार्यान्वयनमा जानेछ ।
अध्यादेशमार्फत् सरकारले गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले नेपालमा कम्पनी खोल्न सक्ने, विदेशी लगानीका रूपमा अनुमति लिनु नपर्ने व्यवस्था पनि गरेको छ ।
नेपालको संविधान २०७२ अनुसारको नागरिकता ऐन बनेपछि ३० असोज २०८० देखि नेपालमा गैरआवासीय नेपाली नागरिकता वितरण सुरु भएको हो ।
गृह मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार तीनहजार भन्दा बढीले गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिइसकेका छन् ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ध्यादेशमार्फत् गैरआवासी नेपालीले नेपालमा कम्पनी खोल्न सक्ने कानुनी व्यवस्था गरेको हो ।
गैरआवासीय नेपालीले विदेशमा आर्जन गरेको सम्पत्ति यहाँ लगानी गर्न यसअघि कानुनी जटिलता थियो । त्यसलाई अन्त्य गरी मुलुकमा लगानीको वातावरण सहज बनाउन सरकारले अध्यादेशमार्फत् यस्तो व्यवस्था गरेको हो ।
यस्ता छन् व्यवस्थाहरुः
गैर आबासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले १० वर्ष नेपाल बस्दा निःशुल्क भिसा पाउँछन् ।
सेवा प्रवाहमा नागरिक एप प्रयोगमा ल्याउने कानुनी व्यवस्था।
श्रमिकहरुको अनिवार्य अवकाश उमेर हद ५८ बाट ६० वर्ष बनाइएको छ ।
नेपाल सरकारको कार्य सम्पादन सरलीकरण गर्दै ७ दिन भित्र निर्णय गर्नु पर्ने, नगरेमा कारबाही गर्ने व्यवस्था गरिएको छ ।
कसुरजन्य सम्पत्ति र कसुरमा संलग्न साधन जफत गर्ने व्यवस्था गरिएको छ ।
फैसला कार्यान्वयनको तहमा केही सरकारवादी मुद्दामा मिलापत्र गरी पीडितलाई रकम भराउने मौका दिने र पीडित सँग मिलापत्र गरेमा दण्ड जरिवाना माफी हुने।
पुनरावेदन गर्दा विगो, जरिवाना पूरै धरौटी राख्न नसके थुनामा बस्नु पर्ने व्यवस्था परिवर्तन गरी सुरु धरौटीको १५ प्रतिशत मात्र धरौटी राखे पुग्ने ।
सामाजिक सुरक्षा भत्ताका लागि क्रमश राष्ट्रिय परिचय पत्र अनिवार्य गर्दै जाने ।
निवृत्तिभरण कोषमा शिक्षकहरूलाई समावेश गर्ने।
योगमाया आयुर्वेदिक विश्वविद्यालय सञ्चालन कानुनमा संशोधन गरिएको छ ।
नेपाली आइटी कम्पनीले विदेशमा लगानी गर्न र विदेशी बाजार सँग प्रतिस्पर्धा गरी नेपालमा आम्दानी भित्र्याउन पाउने, विदेशमा शाखा कार्यालय खोल्न पाउने।
तीन करोड सम्मको राजश्व विवाद राजश्व चुहावट अनुसन्धान विभागले नै निर्णय गर्न सक्छ। राजश्व चुहावट मुद्दामा विगो भराउन फैसला पर्खिनु नपर्ने, जरिवाना र विगो तिरेमा मिलापत्र गर्न सकिने ।
सरकारी ठेक्कापट्टामा उत्पन्न विवाद मध्यस्थतबाट गर्दा भएको ढिलाइ अन्त्य गर्न द्रुत मध्यस्थता गर्ने व्यवस्था राखिएको छ।
गैर आवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले नेपालमा कम्पनी खोल्न सक्ने, विदेशी लगानीका रूपमा अनुमति लिनु नपर्ने ।
कम्पनीका कर्मचारीले प्राप्त गरेको कर्मचारी शेयर बिक्री सम्बन्धी स्पष्ट व्यवस्था राखिएका छन्।
कम्पनी दर्ता सहज तरिकाले गर्न सक्ने, तर बन्द गर्दा हुने झन्झट अन्त्य गरिएको छ र कारोबार नभई बन्द हुन चाहने कम्पनी खारेजी गर्दा तिर्नु पर्ने जरिवानामा छुट दिने ।
विशेष आर्थिक क्षेत्र भित्र हाल उत्पादन मुलक उद्योगले मात्र सञ्चालन अनुमति पाएकोमा अब सेवा मुलक उद्योग पनि स्थापना हुन सक्ने भएका छन् ।