२४ असार २०८२, मंगलवार
Follow Us

क्यान्सर उपचारका कारण बेलायती राजाका औपचारिक कार्यक्रमहरू रद्द

नेपालब्रिटेन डट कम्
१४ चैत्र २०८१, बिहीबार २१:०९

लण्डन । बेलायती राजा चाल्र्स तृतीयको क्यान्सर उपचारपछि उनका सबै औपचारिक कार्यक्रमहरू रद्द गरिएका छन्।

बकिङ्घम दरबारका अनुसार, नियमित क्यान्सर उपचारपछि अस्थायी असरको अनुभव गरेपछि राजाले भोलीका सबै शाही कार्यक्रमहरू रद्द गरेका हुन्।

विहीबार बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेले बेलायती राजा चाल्र्स तृतीय समक्ष ओहोदाको प्रमाणपत्र पेश गर्ने कार्यक्रम अन्तिम समयमा आएर रोकिएको थियो।

बकिङ्घम दरबारले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, “आज बिहान तय गरिएको नियमित क्यान्सर उपचारपछि महामहिम राजाले अस्थायी असरको अनुभव गर्नुभयो, जसका कारण केही समय अस्पतालमा निरीक्षणमा रहनु पर्‍यो। त्यसैले उहाँका दिउँसोका कार्यक्रमहरू स्थगित गरिएका छन्।”

विज्ञप्तिमा थप भनिएको छ, “राजा अहिले क्लेरेन्स हाउस फर्किनुभएको छ र चिकित्सकीय सल्लाहअनुसार सुरक्षाका लागि भोलीको कार्यतालिका पनि पुनःनिर्धारण गरिनेछ। महामहिम राजाले यो कारणले असुविधा वा निराश महसुस गर्ने सबैजनासँग क्षमायाचना गर्न चाहनुहुन्छ।”

बकिङ्घम दरबारले सन् २०२४ को फेब्रुअरीमा राजा चाल्र्स क्यान्सरबाट पीडित भएको घोषणा गरेको थियो र त्यसपछि उहाँले उपचार सुरु गर्नुभएको थियो।

पछिल्लो डिसेम्बरमा स्रोतहरूले राजाको उपचार नयाँ वर्षसम्म जारी रहने संकेत गरेका थिए।

दरबारका स्रोतहरूका अनुसार, “उहाँको उपचार सकारात्मक दिशामा अगाडि बढिरहेको छ र एक व्यवस्थापनयोग्य अवस्थाका रूपमा उपचार चक्र नयाँ वर्षसम्म जारी रहनेछ।”

धेरै पढिएको