१ असार २०८२, आईतवार
Follow Us

क्राइमिया रूसलाई सुम्पन युक्रेन तयार रहेको ट्रम्पको दाबी

नेपालब्रिटेन संवाददाता
१५ बैशाख २०८२, सोमबार ०६:२१

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीरुसले कब्जा गरेको क्रिमिया फिर्ता गर्नुपर्ने दाबीबाट पछि हट्न तयार हुने आफ्नो विश्वास रहेको बताएका छन । रुससँगको शान्ति सम्झौताको क्रममा युक्रेनले यस्तो प्रस्ताव स्वीकार्ने उनले बताएका हुन । सो क्षेत्र सन् २०१४ मा रुसले कब्जा गरेको थियो ।

ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध रोक्न र दुई हप्ताभित्रै सम्झौतामा हस्ताक्षर गर्न अपिल पनि गरेका छन । पुटिन तयार भए दुई सातामा युद्धविराम सम्झौता हुने ट्रम्पको भनाइ छ । पोप फ्रान्सिसको अन्त्येष्टिअघि भ्याटिकनमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग छोटो भेटघाटपछि पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले यी टिप्पणीहरू गरेका हुन् । युक्रेनले बारम्बार आफ्नो कुनै पनि भूमि छोड्न अस्वीकार गर्दै आएको छ । युक्रेनले युद्धविराममा सहमति भएपछि मात्रै सो मुद्दामा छलफल गर्नुपर्नेमा जोड दिएको छ ।

जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुवैले ट्रम्पका पछिल्ला टिप्पणीहरूमा सार्वजनिक रूपमा कुनै प्रतिक्रिया जनाएका छैनन् । उता जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले युक्रेनलाई युद्धविरामको बदलामा ठूलो मात्रामा भू–भाग छोड्नुपर्ने सम्झौता नगर्न चेतावनी दिएका छन । युक्रेनले युद्धविराम प्राप्त गर्न केही भू–भाग गुमाउनुपर्ने सम्भावना भने रहेको उनको भनाइ छ । हाल रुसले करिब २० प्रतिशत युक्रेनी भू–भाग नियन्त्रणमा लिएको छ ।