लन्डन । जापानका लागि नेपाली राजदूत तथा साहित्यकार डा. दुर्गाबहादुर सुवेदी (दुबसु) क्षेत्रीलाई वि.सं. २०८२ सालको ‘युगकवि सिद्धिचरण पुरस्कार’ प्रदान गरिने भएको छ।
युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष कवि वैरागी काइँलाले एक विज्ञप्ति जारी गर्दै उक्त घोषणा गरेका हुन्। विज्ञप्तिमा नेपाली भाषा तथा साहित्यको उन्नयनमा उल्लेखनीय योगदान गरेका कारण डा. क्षेत्रीलाई सम्मान प्रदान गर्ने निर्णय गरिएको उल्लेख छ।
पुरस्कार चयन कार्य प्रा. डा. मोहनप्रसाद लोहनीको संयोजकत्वमा गठित त्रिसदस्यीय समिति मार्फत गरिएको हो। समितिमा प्रा. डा. अभि सुवेदी र कवि मञ्जुल सदस्यका रूपमा रहेका थिए।
डा. दुबसुका छ दर्जनभन्दा बढी मौलिक तथा सम्पादित साहित्यिक र अनुसन्धानात्मक कृतिहरू प्रकाशित छन्। उनले विभिन्न प्राज्ञिक, साहित्यिक तथा सांस्कृतिक संस्थाहरूको माध्यमबाट नेपाली भाषा र साहित्यको सम्वर्द्धनमा विशेष योगदान पुर्याएका छन्।
युगकवि सिद्धिचरण श्रेष्ठको साहित्यलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन उनले महत्त्वपूर्ण भूमिका खेलेका छन्। उनकै नाममा स्थापित ‘दुबसु क्षेत्री राष्ट्रिय विकास प्रतिष्ठान’ मार्फत ‘भीमसेन थापा’ खण्डकाव्य प्रकाशित गरिएको छ। यस काव्यलाई उनले नाटकीय रूप दिई बेलायतसहित विभिन्न देशहरूमा मञ्चनसमेत गराएका छन्। हाल उक्त नाटकलाई चलचित्रमा रूपान्तरण गर्ने तयारीमा उनी संलग्न छन्।
युगकवि सिद्धिचरणका कविताहरू उनले अंग्रेजी र जापानी भाषामा अनुवाद गराई प्रकाशित गरेका छन्।
नेपाल, बेलायत, जापान र अमेरिका लगायतका विभिन्न विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका डा. क्षेत्री लामो समयदेखि कूटनीतिक सेवामा संलग्न छन्। हाल उनी जापानका लागि नेपालका राजदूतको रूपमा कार्यरत छन्। बेलायत, जापान, माल्टा, आयरल्यान्ड, बहराइन, अमेरिका, म्यान्मार लगायत देशहरूमा राजदूत, प्रथम सचिव र महावाणिज्यदूतका रूपमा कार्यसम्पादन गरिसकेका छन्।
प्रशासनिक जिम्मेवारीका अलावा डा. क्षेत्री साहित्यिक क्षेत्रमा अझ बढी परिचित छन्। कविता, गीत, गजल, मुक्तक, काव्य र अनुसन्धानको क्षेत्रमा उनका ३८ भन्दा बढी कृति प्रकाशित छन्। साथै, उनले तीन दर्जनभन्दा बढी कृति र पत्रपत्रिकाको सम्पादन गरिसकेका छन्। एक दर्जनभन्दा बढी अनुवादित कृतिहरू प्रकाशित छन् भने उनले दुई दर्जनभन्दा बढी साहित्यिक संघसंस्थाको स्थापना तथा नेतृत्वसमेत गरेका छन्।
साहित्यिक क्षेत्रमा लामो समयदेखिको योगदानको कदरस्वरूप उनलाई वि.सं. २०८२ सालको ‘युगकवि सिद्धिचरण पुरस्कार’ प्रदान गरिने निर्णय भएको हो।
पुरस्कार आगामी जेठ ९ गते, युगकवि सिद्धिचरणको ११४ औँ जन्मजयन्तीको विशेष समारोहमा प्रदान गरिने प्रतिष्ठानका संरक्षक रविचरण श्रेष्ठले जानकारी दिएका छन्।
पुरस्कारप्रति आभार व्यक्त गर्दै डा. दुबसुले साहित्यिक क्षेत्रमा आफ्ना योगदानको कदर हुनु आफूलाई सम्मानित महसुस गराएको बताए। यसबाट आफूलाई थप जिम्मेवारी बढेको अनुभूति भएको उनको भनाइ छ।