गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको सचिवालय बैठक मे १९, २०२५ मा सम्पन्न भएको छ। एनआरएनए अमेरिकाका अध्यक्ष डा. अर्जुन बन्जाडेको अध्यक्षतामा बसेको बैठकमा सचिवालयका १६ सदस्यमध्ये १३ जनाको उपस्थिति रहेको थियो। बैठकमा वरिष्ठ उपाध्यक्ष विकास उप्रेती, उपाध्यक्षहरू ज्ञानेन्द्र गुरुङ, प्रेम तामाङ, भानु खरेल र नेत्र पाण्डे, महिला उपाध्यक्ष सुनिता कँडेल, सचिव दीपक सापकोटा, महिला सचिव शान्ति पौडेल, सह–कोषाध्यक्ष दिवाकर पाण्डे, महिला को–अर्डिनेटर सुनिता खत्री, यूथ को–अर्डिनेटर तेज विनोद पौडेल र प्रवक्ता डा. राजन पन्त सहभागी थिए।
बैठकले आगामी जुलाईमा हुने एनआरएनए एनसीसी अमेरिका २०२५–२०२७ कार्यकालको निर्वाचनको तयारीका लागि महत्वपूर्ण निर्णयहरू गरेको छ। निर्वाचनका लागि सदस्यता वितरण तथा नवीकरण कार्य विगतमा प्रयोग गरिएको MIS प्रणालीमार्फत गर्ने निर्णय गरिएको छ। यसैगरी, सदस्यता प्रमाणीकरणको लागि प्रारम्भिक रूपमा तीन सदस्यीय समिति गठन गरिएको छ जसमा अध्यक्ष डा. अर्जुन बन्जाडे, वरिष्ठ उपाध्यक्ष विकास उप्रेती र प्रवक्ता डा. राजन पन्त रहेका छन्। आवश्यकताअनुसार यस समितिमा थप सदस्यहरू पनि राख्न सकिने व्यवस्था गरिएको छ।
सदस्यता अभियानलाई अझ सक्रिय बनाउन वरिष्ठ उपाध्यक्ष विकास उप्रेतीको नेतृत्वमा “सदस्यता अभियान समिति” गठन गरिएको छ। यस समितिमा कार्यसमितिका सदस्यहरूका साथै अन्य इच्छुक सदस्यहरू समावेश हुनेछन्। साथै, हरेक राज्य समितिका अध्यक्षहरूलाई आफ्ना राज्यको संयोजकको भूमिका दिइएको छ, जसले स्थानीय तहमा सदस्यता वितरण र प्रचार–प्रसारको जिम्मेवारी सम्हाल्नेछन्।
निर्वाचनसम्बन्धी मितिहरू पनि बैठकमा निर्धारण गरिएको छ। सदस्यता वितरण मे २० देखि जुन २० सम्म चल्नेछ भने सदस्यता प्रमाणीकरण कार्य जुन २१ देखि ३० भित्र सम्पन्न गरी निर्वाचन समितिमा बुझाइनेछ। निर्वाचन आगामी जुलाई १९ (शनिबार) र २० (आईतबार) मा हुने तय भएको छ भने राष्ट्रिय अधिवेशन जुलाई २६ (शनिबार) र २७ (आईतबार) मा सम्पन्न गरिनेछ। यद्यपि यी मितिहरू आवश्यक परेमा परिवर्तन हुन सक्नेछ, जसको अन्तिम निर्णय निर्वाचन मण्डलले गर्नेछ।