२८ असार २०८२, शनिबार
Follow Us

एनआरएन यूके अध्यक्ष पदमा राजेन्द्र पुडासैनीको उम्मेदवारी घोषणा

नेपालब्रिटेन संवाददाता
६ असार २०८२, शुक्रबार १८:४६

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके को आगामी जुलाईको अन्तिम साता हुने निर्वाचनमा अध्यक्ष पदका लागि राजेन्द्र पुडासैनीले उम्मेदवारी घोषणा गरेका छन्। शुक्रबार साँझ लन्डनमा आयोजित पत्रकार सम्मेलनमार्फत पुडासैनीले आफ्नो उम्मेदवारी औपचारिक रूपमा सार्वजनिक गरेका हुन्। वर्तमानमा एनआरएनए अन्तर्राष्ट्रिय समितिका केन्द्रीय सदस्य रहेका पुडासैनी लामो समयदेखि बेलायतमा सामाजिक, राजनीतिक तथा श्रमिक अधिकारका क्षेत्रहरूमा सक्रिय रहँदै आएका छन्।

पत्रकार सम्मेलनमा बोल्दै उनले एनआरएन अभियानलाई थप एकीकृत, समावेशी र जिम्मेवार बनाउन अध्यक्ष पदमा उम्मेदवारी दिएको स्पष्ट पारे। पुडासैनीले प्रस्तुत गरेका प्रमुख प्रतिबद्धताहरूमा एकताबद्ध र एउटै एनआरएन निर्माण, नेपाली नागरिकताको निरन्तरता सुनिश्चित गर्ने, नेपालमा रहेका गैरआवासीय नेपालीहरूको सम्पत्तिको सुरक्षा, पूर्व गोर्खाहरूको समानताको लडाइँमा ऐक्यबद्धता जनाउने, एनआरएनएमा नयाँ पुस्ताको सक्रिय सहभागिता बढाउने, नेपाली कला, साहित्य र संस्कृतिको प्रवर्द्धन तथा नेपाली विद्यार्थी र श्रमिकहरूको अधिकार एवं सुरक्षाको प्रत्याभूति सुनिश्चित गर्नेजस्ता विषयहरू रहेका छन्।

बेलायतस्थित GMB National Union मा सचिव पदमा कार्यरत पुडासैनीले बेलायतमा श्रमिक हकहितका पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्। यसअघि उनले विभिन्न सामाजिक संघसंस्थामा नेतृत्व तथा सल्लाहकारको भूमिकासमेत सम्हालिसकेका छन्। अध्यक्ष पदमा उनको उम्मेदवारीसँगै आगामी एनआरएन यूके निर्वाचनमा प्रतिस्पर्धा थप चासोको विषय बनेको छ।

को हुन् राजेन्द्र पुडासैनी

पश्चिम १ नं. नेपाल, नुवाकोट जिल्लाको साविक जिलिङ गाउँपालिका–२ (हाल बेलकोटगढी नगरपालिका–८) निवासी स्व. उपेन्द्र पुडासैनी र माता लोकमाया पुडासैनीका माईला सुपुत्र श्री राजेन्द्र पुडासैनी आजभन्दा २५ वर्षअघि बेलायत आइपुगेका हुन्।

उहाँले अध्ययनकै सिलसिलामा बेलायतको प्रतिष्ठित विश्वविद्यालयबाट MBA र BSc (Honors) डिग्री प्राप्त गर्नुभयो। विगत १५ वर्षदेखि स्वास्थ्य सेवा विभागमा कार्यरत रहेका पुडासैनी हाल ३ छोरा र २ नाति–नातिनाका हजुरबुवा हुनुहुन्छ।

विद्यार्थीकालदेखि नै सामाजिक रूपान्तरणमा सक्रिय रहनुभएका पुडासैनी नेपालमा रहँदा प्रख्यात सरस्वती बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) सभापति समेत हुनुहुन्थ्यो।

बेलायतमा आएपछि उहाँ ट्रेड यूनियन आन्दोलनको अग्रपंक्तिमा रहेर कार्य गर्दै आउनुभएको छ। बेलायतकै सबैभन्दा ठूलो ट्रेड यूनियनमध्ये एक GMB National Union, London Centre North को सचिव पदमा रही श्रमिकहरूको हक र हितको पैरवी गर्दै आउनुभएको छ।

सामाजिक अन्तरसमन्वय (Social Integration) मा विश्वास राख्ने पुडासैनीले London Borough of Harrow अन्तर्गत Harrow-on-the-Hill को काउन्सिलर पदमा २०१४ मा उम्मेदवारी दिएका थिए। उहाँ राजनीति र समाजसेवाको शुद्धिकरणमा विश्वास गर्नुहुन्छ।

हाल Essex को Harlow मा स्थायी रूपमा बसोबास गर्दै आउनुभएका पुडासैनी बेलायतका विभिन्न सामाजिक संघ–संस्थाहरूमा संलग्न हुनुहुन्छ। उहाँले यती नेपाली एशोसिएसनको दुई कार्यकाल महासचिव, प्रनेमका अध्यक्ष, तथा अन्य संस्थाहरूमा सल्लाहकारको रूपमा भूमिका निर्वाह गर्नुभएको छ।

उहाँ एनआरएन अन्तर्राष्ट्रिय समिति (२०२१–२३) को सदस्य समेत हुनुहुन्थ्यो। नेपालमा महाभूकम्प, बाढी–पहिरोजस्ता प्राकृतिक विपद् आउँदा बेलायती स्वास्थ्यकर्मीहरूको टोलीको नेतृत्व गर्दै प्रत्यक्ष राहत तथा पुनर्निर्माणमा सहभागी हुनुभएको छ।

धेरै पढिएको