हार स्वीकार गर्ने संस्कार बसाल्नुपर्छ
न्यूयोर्क। गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनबाट नेतृत्वको दाबी गरेका महेश कुमार श्रेष्ठलाई अमेरिकामा रहेका नेपालीहरूले प्रश्न गरेका छन् – “एनआरएनए भनेर हिँड्ने, तर जापानबाट सदस्यता किन नलिने?”
शुक्रवार साँझ मेरिल्याण्डमा आयोजित एक भेलामा सहभागी नेपालीहरूले ‘एकता, एकता’ भन्ने मात्र नबोल्न, व्यवहारमै कसरी एकता सम्भव हुन्छ भन्नेमा स्पष्टता माग गरे।
कार्यक्रममा बोल्दै अन्जु खरेलले गैरआवासीय नेपाली संघ जापानमार्फत एउटै एमआईएस प्रणालीबाट सदस्यता वितरण हुँदा श्रेष्ठले सदस्यता नलिएकोप्रति प्रश्न उठाइन्। उनले पराजय स्वीकृत गर्न सक्ने संस्कार बसाल्न आग्रह गर्दै भनिन्, “निर्वाचनमा हार स्वीकार गर्न पनि सक्नुपर्छ।”
भेलामा सहभागी एक व्यक्तिले ‘एकताको बासुरी’ अनन्तसम्म बजाउने कि? भनेर प्रश्न गर्दै त्यसको समयसीमा तोक्नुपर्ने सुझाव पनि राखे।
कार्यक्रममा बोल्दै बाबुराम भट्टराईले संघभित्रको एकतामाथि शंका व्यक्त गरे र एकताको स्पष्ट रोडम्याप माग गरे।
संबोधनमा महेश श्रेष्ठले गैरआवासीय नेपालीहरूमा संघप्रति ठूलो अविश्वास रहेको बताए। “संस्थाभित्र एकता ल्याउने उद्देश्यले नै म नेतृत्वमा आएको हुँ,” उनले भने, “नेतृत्वमा जानु अगाडि डा. बद्री केसी, डा. हेमराज शर्मा र गौरीराज जोशीसँग छलफल गरेर मात्र अघि बढेको हुँ।”
उनका अनुसार धेरै आकांक्षीहरू हुँदाहुँदै पनि आफू एकताको निम्ति सर्वसम्मत रूपमा अगाडि आएको दाबी गरे। “एकता महाधिवेशनपछि संस्थापन पक्ष र नेपालका प्रमुख राजनीतिक दलहरूसँग पटक–पटक वार्ता भए पनि संस्थापन पक्षले अझै आफ्नो अस्तित्व स्वीकार गर्न सकेको छैन,” उनले भने।
श्रेष्ठले एमआईएस प्रणालीको विरोध नगरेको स्पष्ट गर्दै भने, “मैले संयुक्त संरचना बनाएर एमआईएस सञ्चालन गर्नुपर्ने प्रस्ताव राखेको हुँ।” साथै उनले डा. बद्री केसीलाई एकताको निम्ति लचक हुन आग्रह पनि गरे।
कार्यक्रममा एनआरएनए अभियन्ता डा. केशव पौडेल, सूर्य लम्साल, बुद्धि सुवेदी, र एनआरएनए अमेरिकाका अध्यक्ष अर्जुन बन्जाडेले पनि सम्बोधन गरेका थिए।