काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले इरानमा १६ जना नेपाली रहेको बताएकी छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै ५ जना गैरकानूनीरूपमा गएकाले इरानको जेलमा रहेको सूचना आएको बताइन् ।
उनले भनिन्, ‘इरानमा १६ जना हुनुहुन्छ । हामीले भारतको परराष्ट्र मन्त्रालयलाई आग्रह गरेर उहाँहरूको नागरिकसँग ११ जनालाई ल्याउने वातावरण मिलाएका छौँ । उहाँहरू मसाद भन्ने ठाउँमा हुनुहुन्छ। भोलिसम्म भारत आइपुग्नुहुन्छ ।’
उनले गैरकानूनीरूपमा गएर इरानको जेलमा रहेका ५ जनालाई पनि ल्याउन सकिन्छ कि भनेर आफूहरूले प्रयत्न गरिरहेको बताइन् ।
मन्त्री राणाले विदेशमा रहेका नेपाली दूतावास यहाँका वडा कार्यालयजत्तिको पनि नभएको बताएकी छन् । “हाम्रा दूतावास वडा कार्यालयजत्तिकै पनि छैनन् । जापानमा जाँदा म डिप्रेस्ड भएर आएँ,” उनले भनिन्, “कुखुराको खोरभन्दा सानो दूतावास ।”
उनले जापानमा रहेको दूतावासको उदाहरण दिँदै बस्ने ठाउँ पनि नरहेको बताइन् ।
“बस्ने ठाउँ पनि छैन । धेरै वडा कार्यालय एकदमै राम्रा छन् तर दूतावास त्यत्तिका पनि छैनन्,” उनले भनिन्, “जापानको राजदूतावास अलि राम्रो पनि हुनुपर्छ । दिल्ली र बेइजिङको दूतावास मर्मत गर्न भनेर पैसा हालेका छौँ ।”