काठमाडौ । सरकारले एकै दिनमा ३८ अर्ब ६१ करोड सरकारी खर्चको भुक्तानी गरेको छ । चालु आर्थिक वर्षका लागि खर्च निकासा गर्न पाउने अन्तिम दिन बुधबार ठूलो रकम भुक्तानी भएको हो । आर्थिक बर्षमा थाती रहेका सबै प्रकारका भुक्तानी फरफारक गरिएको कारण एकै दिन ठूलो रकम निकासा भएको हो ।
महालेखाको तथ्यांकअनुसार बुधबार १४ अर्ब ९३ करोड रुपैयाँ बराबरको चालु खर्च भुक्तानी गरिएको छ । त्यस्तै २१ अर्ब ७३ करोड रूपैयाँ बराबरको पुँजीगत खर्चको भुक्तानी भएको छ । सार्वजनिक ऋणको सावाँ भुक्तानी र संस्थानहरूमा गरिने लगानीका लागि एक अर्ब ९४ करोड भुक्तानी भएको छ ।
चालु वर्षमा हालसम्म भएको खर्चमा बुधबार मात्रै गरिएको भुक्तानी साढे २ प्रतिशतभन्दा धेरै छ । निकासा भएको रकम गतबर्षको भन्दा बढि हो । गत वर्ष पनि भुक्तानी गर्न पाउने अन्तिम दिन साढे २१ अर्ब रूपैयाँ निकासा गरिएको थियो ।
चालु वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट विनियोजन गरेकोमा १५ खर्ब ५ अर्ब रुपैयाँको खर्च भएको छ ।सरकारको पुँजीगत बजेट कार्यान्वयन ५९ प्रतिशत मात्रै छ । अन्तिम भुक्तानीसँगै गएराति १२ बजेवाट भुक्तनी सम्बन्धी प्रणाली बन्द भएको छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीले आर्थिक वर्ष सकिने अन्तिम सातामा नयाँ दायित्व सिर्जना हुने गरी खर्च बन्देज गरेको छ ।