८ श्रावण २०८२, बिहीबार
Follow Us

गैर आवासीय नेपालीले नागरिकताकै आधारमा शेयर किन्न पाउने व्यवस्था हुने

नेपालब्रिटेन संवाददाता
७ श्रावण २०८२, बुधबार १८:५३

लण्डन । गैर आवासीय नेपालीले जुन सुकै मुलुकमा बसेर पनि शेयर किन/बेच गर्न पाउने व्यवस्था गरिदैछ । जुन सुकै मुलुकमा बसेका नेपाली भएपनि उनीहरूसँग भएकाे नेपाली नागरिकता प्रयोग गरेर नेपालको शेयर बजारमा शेयर किन/बेच गर्न पाउने व्यवस्था गरिदैछ ।

नेपाल धितोपत्र बोर्डले मंगलबार “नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८२/८३ का लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रमहरू” सार्वजनिक गर्‍यो। सोही सार्वजनिक नीति तथा कार्यक्रममा उक्त व्यवस्था गर्न लागिएको उल्लेख छ। “गैर आवासीय नेपाली नागरिकताको आधारमा सहज रूपमा धितोपत्र कारोबार गर्ने व्यवस्था मिलाउने” बोर्डले जारी गरेको नीति तथा कार्यक्रममा उल्लेख छ।

बोर्डले यसो भनेको दुई दशक हुनै लागेको छ। तर अहिलेसम्म गैर आवासीय नेपालीको लागि त्यस्तो व्यवस्था भने गरिएको छैन। बोर्डले सार्वजनिक गर्ने हरेक नीति तथा कार्यक्रमहरूमा गैर आवासीय नेपालीलाई नेपाली शेयर बजारमा प्रवेश गराउने विषय राख्न छुटाउने गरेको छैन। केही शब्दावली परिवर्तन गरेर कार्यक्रममा समेटेकै हुन्छ। त्यसक्रमले आउने वर्षका लागि तय गरिएको नीति कार्यक्रममा उक्त व्यवस्था गर्ने विषय परेको छ। आउने कतिऔं दशका उक्त व्यवस्था हुने हो थाहा पाउन मुस्किल छ। तर बोर्डले हरेक वर्ष आस देखाउन भने छाडेको छैन।

दोस्रो बजारमा माग पक्ष कमजोर छ। गैर आवासीय नेपालीको खुला प्रवेश पछि भने भोल्युम टन्नै बढ्ने अनुमान लगानीकर्ताले गर्न थालिसकेका छन्। शेयरको माग बढ्दा कम्पनीको मूल्य पक्कै पनि बढ्ने नै छ।

अहिले पनि विदेशमा भएका नेपालीले स्वदेशी नागरिकता नै प्रयोग गर्दै दोस्रो बजारमा शेयर किन/बेच गर्दै आएका छन्। तर त्यसले कानुनी मान्यता भने पाएको छैन। उक्त व्यवस्था भए कानुनी रुपमा नै गैर आवासीय नेपालीहरू नेपालको शेयर बजारमा शेयर किन/बेच गर्न योग्य हुने छन्।

धेरै पढिएको