रमेश खनाल । स्पेन । लोकप्रिय गायिका रचना रिमालको प्रस्तुति सहितको हरितालिका तीज विशेष सांस्कृतिक कार्यक्रम सोमबार म्याड्रिडमा भव्यताका साथ सम्पन्न भएको छ।
गैर आवासीय नेपाली संघ म्याड्रिडको आयोजनामा भएको कार्यक्रममा स्पेनभरिका नेपाली समुदायको उल्लेख्य सहभागिता थियो। कार्यक्रममा स्पेनका लागि नेपाली राजदूत महामहीम सनिल नेपालज्यूले यस्ता सांस्कृतिक गतिविधिले परम्परा र पहिचानलाई मजबुत बनाउने धारणा व्यक्त गर्नुभयो। त्यस्तै, एनआरएनए आइसीसी सदस्य रोशन पाठकले तीज पर्वले परदेशमा पनि नेपालीपनलाई जगाइराख्ने बताउनुभयो।
रचना रिमालले आफ्ना चर्चित गीत प्रस्तुत गर्दा दर्शक उत्साहपूर्वक नाचेका थिए भने स्थानीय कलाकारहरूको नृत्य तथा सांगीतिक प्रस्तुति पनि आकर्षण बनेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनए म्याडरीड का अध्यक्ष हर्क थापाले यस्ता कार्यक्रमहरूले परदेशमा नेपालीहरूलाई एक ठाउँमा जोड्ने र संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने अवसर दिने बताउनुभयो।
यसैबीच, रचना रिमालले आफ्नो फेसबुक स्टाटसमा युरोप साङ्गीतिक यात्राका क्रममा पहिलो पटक रियल म्याड्रिडको Santiago Bernabéu स्टेडियम पुग्दा जीवनकै अविस्मरणीय क्षण अनुभूत भएको उल्लेख गरेकी छन्। उनले नेपालमै पनि यस्तै स्तरीय रंगशाला बन्ने आशा व्यक्त गरेकी छन्।