२४ कार्तिक २०८२, सोमबार
Follow Us

साढे ३ अर्ब रुपैयाँ लगानीमा बुटवलमा ‘होटल ह्यात प्लेस’ सञ्चालनमा

नेपालब्रिटेन संवाददाता
२४ कार्तिक २०८२, सोमबार ०६:१०

काठमाडौं । बुटवलमा साढे ३ अर्ब रुपैयाँ लगानीमा ‘होटल ह्यात प्लेस’ सञ्चालनमा आएको छ । बुटवल उपमहानगरपालिका-८, सुख्खानगरस्थित बुटवल-नारायणगढ सडकखण्डको छेउमा निर्माण गरी सञ्चालनमा ल्याइएको ‘होटल ह्यात प्लेस’ लुम्बिनी प्रदेशको आर्थिक केन्द्र बुटवलको पहिलो पाँचतारे होटल हो ।

होटल सफ्रोन सिके प्रा. लि. मार्फत निर्माण गरिएको यो होटलको व्यवस्थापन अन्तर्राष्ट्रियस्तरको हायात होटल समूहले गर्ने भएको छ । सफ्रोन सिके प्रालिले हायतसँग दीर्घकालीन सम्झौता गर्दै होटल सञ्चालनमा अन्तर्राष्ट्रिय मापदण्ड लागू गरेको छ ।

२५ कट्ठा क्षेत्रफलमा फैलिएको यो होटलमा रूपन्देहीका सफल उद्योगी व्यवसायीहरू चुन्नुप्रसाद पौडेल, नरिश्वर पौडेल, भूमिराज पौडेल, कमलकिशोर मालपानी, उमाशंकर मालपानी र नितेश मालपानीको संयुक्त लगानी रहेको छ । होटलमा गरिएको ३ अर्ब ५० करोड रुपैयाँ लगानीमध्ये ६५ प्रतिशत बैंक ऋण र ३५ प्रतिशत लगानी सञ्चालक समूहको रहेको सञ्चालक चुन्नुप्रसाद पौडेलले बताए ।

सञ्चालक पौडेलले भने,‘२५ कट्ठा क्षेत्रफलमा ५ वर्षमा यो होटल स्थापना भएको छ । होटलमा करिब ३५० करोड लगानी गरेका छौँ । जसमा ग्लोबल आइएमई बैंक लिमिटेड र होटल सफ्रोन सिकेको संयुक्त लगानी रहेको छ । यो होटलमा कुनै नेताको एक पैसा पनि लगानी छैन । होटल पूर्ण क्षमतामा सञ्चालनमा आउँदा ३५० जनासम्मलाई रोजगारी दिनेछ । जसमा अधिकांश स्थानीयलाई प्राथमिकता दिइनेछ । कुक, सरसफाइ गर्नेदेखि म्यानेजरसम्मले काम यो होटलमा गर्नुपर्ने हुन्छ, रोजगारी सबै स्थानीयलाई नै दिन सक्ने अवस्था पनि रहन सक्छ ।’

अत्याधुनिक संरचनामा बनेको यो होटलमा जमिनमुनि दुईतले पार्किङ र जमिनमाथि १० तले भवन रहेको छ । होटलमा ६ श्रेणीका १०९ कोठा छन्, जसमा एकैपटक २५० पाहुना बस्न सक्ने व्यवस्था छ । करिब ५ हजार ७४६ वर्गमिटर क्षेत्रमा फैलिएको होटलमा रेस्टुरेन्ट, स्विमिङ पुल, ब्याङ्कवेट हल, क्यासिनो, स्पा, चारवटा सेमिनार हल र अन्य विलासी सुविधाहरू समावेश गरिएको छ ।

होटल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २५ किलोमिटर र भारतको बेलहिया सिमानाबाट २८ किलोमिटर दूरीमा अवस्थित छ । होटल ह्यात प्लेसले प्रत्यक्ष रूपमा ३५० जनालाई रोजगारी दिनेछ । ह्यात प्लेस बुटवलले लुम्बिनी प्रदेशको आतिथ्य उद्योगमा नयाँ अध्याय सुरु गर्दै बुटवललाई अन्तर्राष्ट्रिय पर्यटकका लागि आकर्षक गन्तव्यको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ ।

होटलको अगाडि नै बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी केन्द्र रहेकोले सम्मेलन, व्यापारिक भ्रमण र पर्यटनका लागि बुटवल आउने पाहुनालाई सहज आवासीय सुविधा मिल्ने विश्वास गरिएको छ ।

धेरै पढिएको