काठमाडौं । गत २४ भदौमा भएको जेनजी समुहको प्रदर्शनको क्रममा पूर्व मन्त्री एवं नेपाली कांग्रेसका नेता दिपक खड्काको घरमा आगोजनी र तोडफोड गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेर मुद्धा चलाएको छ । पूर्व मन्त्री खड्काको घरमा तोडफोड र आगजनी गरेको आरोपमा प्रहरी वृत्त महाराजगञ्जले तीन जनालाई पक्राउ गरेको थियो ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ घर भइ बुढानिलकण्ठ बस्ने ४४ वर्षीय रणबहादुर सिंह, बुढानिलकण्ठ नै बस्ने ३१ वर्षीय सुसम श्रेष्ठ र काभ्रे घर भइ बूढानीलकण्ठ बस्ने ३९ वर्षीय रेखा सुनार भनिने सानी सुनारलाई पक्राउ गरेर अनुसन्धान गरिएको थियो ।
प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले उनीहरूलाई आपराधिक उपद्रव र डाँकासम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । काठमाण्डू जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थिको इजलासले रणबहादुर र सुसमलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ । रेखालाई भने २५ हजार धरौटीमा छाड्न आदेश भएको छ ।
उनीहरूविरुद्ध साढे ७ करोड रुपैयाँ बिगो मागदाबी गरिएको छ । तत्कालीन मन्त्री खड्काका भाइ जीवन खड्काले प्रहरीमा जाहेरी दरखास्त दिएका थिए ।
जहाँ बुढानिलकण्ठ–१ स्थित कित्ता नम्बर ५४ मा रहेको साढे २ तले घर, बा २४ च ५०७०, बा. प्र.–०१–०२९ च ३३०४ नम्बरको निजी गाडी, बा १ झ ८८८१ र बा १ झ ४९२८ नम्बरको सरकारी गाडी जलाइएको जाहेरीमा उल्लेख छ । त्यसैगरी सुनको ६ तोलाको रानिहार, सुनको चुरा, डायमण्ड र मोती हार ३ सेट, ६ तोलाको सुनको औठी ६ थान, १ सेट मुगाको टप र औठी, सुनको तिलहरी १ थान, डायमण्डको टप ४ थान, बच्चाको सुनको सिक्री ५ तोला लगेको दाबी गरिएको छ ।
नगद ५ लाख, अमेरिकी डलर ७ सय ल्यापटप, कम्युटर, ब्यागल अन्य बहुमुल्य सामानहरू गरी साढे ७ करोड डाँका चोरी गरेर लगेको दाबी गरिएको थियो ।
मुद्दा चलाइएका मध्ये रणबहादुर ११ वर्ष सेनाको जागिर खाएर २०६८ सालमा छाडेका व्यक्ति हुन् । उनी बूढानीकलण्ठमै घर बनाएर बस्दै आएका थिए । सुसम पनि बुढानिलकण्ठमै रेष्टुरेन्ट व्यवसाय गर्दै आएका व्यक्ति हुन् । रेखा भने ज्याला मजदुरी गर्दै आएकी हुन् ।