मुख्य समाचार

भेपमार्फत सुन तस्करी प्रकरण: कृष्णबहादुर महराविरुद्ध विशेष अदालतमा मुद्दा

काठमाडौँ । भेपमार्फत सुन तस्करी गरिएको प्रकरणमा पूर्वसभामुख तथा नेकपा नेता कृष्णबहादुर महरासहित २९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग (टंगाल) ले बिहीबार विशेष अदालतमा मुद्दा पेस गरेको हो । विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार २८ व्यक्ति र एक कम्पनीविरुद्ध मुद्दा आएको छ र हाल रूजु हुने क्रममा रहेको छ ।

यसअघि महराविरुद्ध गत असोज २७ गते जिल्ला अदालत काठमाडौंमा पनि मुद्दा दर्ता भएको थियो । जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले मंसिर ११ गते २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

यो प्रकरण २०७९ पुस १० गते फ्लाई दुबईबाट आएका चिनियाँ नागरिक ली हानसङले लगेजमार्फत ठूलो संख्यामा भेप ल्याएको घटनासँग सम्बन्धित छ । ती भेपभित्र लुकाइएको करिब ९ किलो सुन विमानस्थलकै भन्सारबाट चोरी भएपछि मात्र तस्करीको तथ्य बाहिर आएको थियो ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धानका क्रममा महराको सम्बन्ध तस्करीका मुख्य नाइके दाओजिन वाङसँग देखिएको थियो । प्रारम्भिक अनुसन्धानमा उक्त सम्बन्ध प्रस्तुत गरिए पनि तत्काल मुद्दा चलाइएको थिएन ।

पछि सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले महरालाई समेत मुद्दा चलाउनुपर्ने सिफारिस गरेपछि प्रक्रिया अघि बढाइएको हो । सिआइबीले उनलाई २०८० चैत ५ गते कपिलवस्तुबाट पक्राउ गरेको भए पनि बयान लिएर हाजिर जमानीमा छाडिएको थियो ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता