५ बैशाख २०८३, शनिबार
Follow Us

तीन पुस्ताको सहभागितामा वेष्ट लण्डनमा मनाइयो नेपाली नयाँ वर्ष

नेपालब्रिटेन संवाददाता
५ बैशाख २०८३, शनिबार १९:४७

हिथ्रो क्षेत्रलाई केन्द्रविन्दु बनाएर नेपालीहरूको साझा चौतारीजस्तो एक साझा भवन निर्माण गर्नुपर्ने आवश्यकता

लण्डन । वेष्ट लण्डन क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले यस वर्ष पनि नेपाली नयाँ वर्ष २०८३ उत्साह, एकता र सांस्कृतिक झल्कोका साथ भव्य रूपमा मनाएका छन्। हन्स्लो, फेलथाम, सटन, आइजलवर्थ लगायत विभिन्न क्षेत्रहरूमा रहेका नेपालीहरू शनिबार किङ्स्टनस्थित पार्कमा भेला भएर सामूहिक रूपमा नयाँ वर्षको शुभकामना आदान–प्रदान गरेका थिए।

कार्यक्रम स्थलमा नेपाली राष्ट्रिय झण्डा फहराउँदै उपस्थित भएका नेपालीहरूले एकआपसमा शुभकामना साटासाट मात्र गरेनन्, नेपाली मौलिक परिकारहरूको स्वाद पनि लिँदै आफ्नो संस्कृति झल्काउने वातावरण सिर्जना गरेका थिए। पार्क परिसर नेपालीपनले भरिएको झैँ देखिन्थ्यो, जहाँ बालबालिकादेखि वृद्धसम्मको उत्साहपूर्ण सहभागिता उल्लेखनीय थियो।

कार्यक्रम आयोजकमध्येका एक कमल कंडेलका अनुसार विदेशमा हुर्किँदै गरेको दोस्रो पुस्तालाई नेपाली भाषा, संस्कृति र परम्परासँग जोडिराख्ने उद्देश्यले तीन पुस्ताको सहभागितामा नयाँ वर्ष मनाइएको हो। उनका अनुसार यस्ता कार्यक्रमले नेपालसँगको भावनात्मक सम्बन्धलाई अझ मजबुत बनाउने मात्र होइन, समुदायबीचको आपसी सम्बन्धलाई पनि सुदृढ बनाउँछ।

कार्यक्रममा विशेषगरी बेलायतमा जन्मिएर हुर्किरहेका दोस्रो पुस्ताका बालबालिकाको बाक्लो उपस्थिति देखिएको थियो। अभिभावकहरूका अनुसार यस्ता सांस्कृतिक कार्यक्रमले बालबालिकालाई आफ्नो पहिचान, भाषा र संस्कृतिप्रति गर्व गर्ने वातावरण निर्माण गर्छ। कमल कंडेलले भने, “चाडपर्वहरूमा दोस्रो पुस्तालाई सक्रिय रूपमा सहभागी गराउँदा उनीहरूले नेपाली भाषा सिक्ने, संस्कृति बुझ्ने र समुदायसँग घुलमिल हुने अवसर पाउँछन्।”

सो अवसरमा वेष्ट लण्डन क्षेत्रमा विभिन्न पेशामा संलग्न नेपाली पेशाकर्मी, पत्रकार, समाजसेवी तथा बुद्धिजीवीहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो। उनीहरूले एकै ठाउँमा भेला भएर समुदायको वर्तमान अवस्था, सांस्कृतिक गतिविधि र आगामी योजनाबारे छलफल समेत गरेका थिए।

वेष्ट लण्डनमा बसोबास गर्ने नेपाली समुदायले यसअघि पनि नेपाली ढाका टोपी दिवस, होली लगायतका चाडपर्वहरू सामूहिक रूपमा विभिन्न स्थानमा मनाउँदै आएका छन्। यस्ता गतिविधिहरूले प्रवासमा रहे पनि नेपालीपनलाई जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन्।

कार्यक्रममा विशेषगरी वेष्ट लण्डन क्षेत्रमा नेपाली समुदायका लागि एउटा बृहत् सांस्कृतिक केन्द्रको आवश्यकता रहेको विषयमा पनि गम्भीर छलफल भएको थियो। हिथ्रो क्षेत्रलाई केन्द्रविन्दु बनाएर नेपालीहरूको साझा चौतारीजस्तो एक साझा भवन निर्माण गर्नुपर्ने आवश्यकता रहेको सहभागीहरूले औंल्याए। उनीहरूका अनुसार यस्तो केन्द्र स्थापना भएमा नेपाली भाषा, संस्कृति, कला र सामाजिक गतिविधिहरूलाई दीर्घकालीन रूपमा संरक्षण र प्रवर्द्धन गर्न सहज हुने छ।

धेरै पढिएको