२७ बैशाख २०८३, आईतवार
Follow Us

दक्षिण कोरियाबाट नेपालमा सामाजिक अभियान विस्तार

नेपालब्रिटेन संवाददाता
२७ बैशाख २०८३, आईतवार ०६:११

काठमाडौं । दक्षिण कोरियामा कार्यरत युवा संस्थापकद्वय प्रतिक राई र कुसल खड्काको नेतृत्वमा इन्फिनिटी फाउन्डेसन नेपाल (आईएफएन) ले देशभरका सरकारी विद्यालयहरूमा शैक्षिक, सामाजिक तथा प्रेरणामूलक कार्यक्रम सञ्चालन गर्दै उल्लेखनीय योगदान पुर्‍याइरहेको छ ।

२० वर्षकै उमेरमा समाज सेवा र नेपालको शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित स्थापना गरिएको फाउन्डेसनले विशेषगरी आर्थिक अभावका कारण पछि परेका जेहेन्दार विद्यार्थीहरूलाई लक्षित गर्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

फाउन्डेसनले विद्यार्थीहरूको बौद्धिक तथा व्यक्तित्व विकासलाई प्राथमिकतामा राख्दै हाजिरीजवाफ, वक्तृत्वकला, नेतृत्व विकास तथा प्रेरणामूलक कार्यक्रमहरू आयोजना गर्दै आएको छ । यस्ता कार्यक्रममार्फत विद्यार्थीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता तथा सकारात्मक सोचको विकास गराउने प्रयास भइरहेको संस्थाको भनाइ छ ।

विशेषगरी ‘पूर्ण छात्रवृत्ति कार्यक्रम’ अहिले फाउन्डेसनको सबैभन्दा प्रभावकारी अभियानका रूपमा स्थापित हुँदै गएको छ । कार्यक्रम अन्तर्गत उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्ने, अनुशासित तथा प्रतिभाशाली विद्यार्थीहरूलाई छनोट गरी एक वर्षे पूर्ण छात्रवृत्ति प्रदान गरिँदै आएको छ ।

छात्रवृत्तिमा ट्युसन तथा परीक्षा शुल्कसँगै विद्यालय पोसाक, झोला, जुत्ता–मोजा, कापी, कलम, क्याल्कुलेटर, जियोमेट्री बक्स लगायत सम्पूर्ण शैक्षिक सामग्री उपलब्ध गराइन्छ। साथै, विद्यार्थीहरूको चौतर्फी विकासका लागि शैक्षिक भ्रमणको सम्पूर्ण खर्चसमेत फाउन्डेसनले व्यहोर्दै आएको जनाएको छ ।

आर्थिक अभावका कारण पढाइबाट वञ्चित हुनसक्ने विद्यार्थीहरूलाई निरन्तर शिक्षामा जोडिराख्ने उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रम अहिले अभिभावक तथा विद्यालयका लागि आशाको केन्द्र बन्दै गएको बताइएको छ ।

हालै सञ्चालन गरिएको छात्रवृत्ति अभियान अन्तर्गत उदयपुर जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्ति वितरण गरिएको छ । चौदण्डीगढी नगरपालिकास्थित श्री माध्यमिक विद्यालय, आमसालका २ जना तथा श्री सगरमाथा विद्यालयका ३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको संस्थाले जनाएको छ ।

त्यसैगरी, बेलका नगरपालिकाअन्तर्गत श्री जनता माध्यमिक विद्यालय, लामीडाँडाका २ जना तथा श्री जनता माध्यमिक विद्यालय, पुमारेथुम्काका २ जना विद्यार्थीलाई पनि पूर्ण छात्रवृत्ति प्रदान गरिएको छ। वैशाख २३, २४ र २५ गते सम्पन्न कार्यक्रममा विद्यार्थीहरूलाई शैक्षिक सामग्री, विद्यालय पोसाक तथा आवश्यक सहयोग हस्तान्तरण गरिएको थियो ।

फाउन्डेसनले शिक्षा क्षेत्रसँगै स्वास्थ्य क्षेत्रमा समेत सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । आर्थिक अभावका कारण उपचारबाट वञ्चित बिरामीहरूलाई चिकित्सकीय परामर्श तथा आर्थिक सहयोग उपलब्ध गराउँदै आएको संस्थाको भनाइ छ ।

त्यसैगरी, वृक्षरोपण, सरसफाइ अभियान तथा पर्यटन प्रवर्द्धनसम्बन्धी जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको फाउन्डेसनले जनाएको छ । वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै समुदायस्तरमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको संस्थाले उल्लेख गरेको छ ।

शिक्षामा आर्थिक पहुँच विस्तार गर्ने उद्देश्यसहित इन्फिनिटी फाउन्डेसन नेपालले काठमाडौं उपत्यकामा आर्थिक रूपमा कमजोर तथा पछाडि परेका कक्षा ८, १० र १२ का विद्यार्थीहरूलाई मासिक १०० रुपैयाँ शुल्कमा अध्ययन गराउने विशेष अभियानसमेत सञ्चालन गरिरहेको छ ।

साथै, प्रत्येक आइतबार दुई घण्टा सरसफाइ कार्यक्रममा स्वयंसेवकका रूपमा सहभागी गराउने अभ्यासमार्फत विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्व र सेवाभाव विकास गर्ने प्रयास गरिएको संस्थाले जनाएको छ ।

यसका अतिरिक्त, विद्यार्थी तथा युवाहरूलाई सीपमूलक तथा प्रतिस्पर्धात्मक शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले आईईएलटीएस, लोकसेवा, कोरियन तथा जापानी भाषा कक्षासमेत मासिक १०० रुपैयाँ शुल्कमै सञ्चालन भइरहेको फाउन्डेसनले जनाएको छ । सस्तो, सहज र गुणस्तरीय शिक्षा उपलब्ध गराउँदै युवालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित आफ्ना कार्यक्रमलाई थप विस्तार गर्दै लैजाने प्रतिबद्धता संस्थाले व्यक्त गरेको छ ।

धेरै पढिएको