काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले ब्रेकफास्टका क्रममा खाएको अम्लेटमा माछाको काँडा भेटिएको चितवनको एक होटललाई तीन लाख रुपैयाँ जरिवाना तिराइएको छ ।
भरतपुर विमानस्थल अगाडि रहेको होटल लड्र्स बिजनेस कम्प्लेक्स प्रालिमा गृहमन्त्रीले ब्रेकफास्ट गर्ने क्रममा अम्लेटमा माछाको काँडा भेटिएको थियो ।
गृहमन्त्रीको गुनासोपछि चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मासहित खाद्य तथा गुणस्तर मापन कार्यालयको टोलीले होटलको निरीक्षण गरेको थियो ।
निरीक्षणपछि उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पुग्ने खालका खाद्यान्न प्रयोग तथा सेवा प्रदान गरेको निष्कर्ष निकाल्दै होटललाई ३ लाख रुपैयाँ जरिवाना तिराइएको सहायक सिडिओ शर्माले जानकारी दिए ।
अनुगमनका क्रममा होटलमा गुणस्तरहीन तेल प्रयोग गरिएको, तरकारी ताजा नभएको तथा खाद्य स्वच्छतासम्बन्धी मापदण्ड पालना नगरिएको पाइएको थियो । अनुगमनका क्रममा भेटिएका गुणस्तरहीन खाद्य सामग्रीहरू नष्ट गरिएको छ ।