१९ श्रावण २०८३, मंगलवार
Follow Us

बर्लिनस्थित दूतावासका प्रथम सचिव यादवद्वारा पत्रकारलाई धम्की, छानबिनको माग

नेपालब्रिटेन संवाददाता
१९ श्रावण २०८३, मंगलवार १८:३८

काठमाडौं — जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको भन्दै उक्त घटनाको निष्पक्ष छानबिन र कारबाहीको माग गरिएको छ।

नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राईले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै महासंघका पूर्वउपाध्यक्ष तथा नेपाल समाचारपत्रका युरोप प्रतिनिधि गजुरेललाई दिइएको धम्कीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्। समाचारसम्बन्धी फलोअप प्रतिक्रिया (बाइट) लिने क्रममा प्रथम सचिव यादवले पत्रकार गजुरेललाई टेलिफोनमा धम्कीपूर्ण अभिव्यक्ति दिएको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिअनुसार प्रथम सचिव यादवले भनेका थिए, “तपाईं कुन ठाउँमा बसेर पत्रकारिता गर्दै हुनुहुन्छ, थाहा छ? म अबदेखि तपाईंको फोन उठाउँदिन। थप समाचार लेख्नुभयो भने तपाईंलाई गाह्रो पर्छ, ब्याक फायर गर्छु।”

पत्रकार गजुरेलले गत साता राजदूतावासले कर्मचारी भर्नाका लागि जारी गरेको सूचना अनधिकृत रूपमा तोडमोड गरिएको तथ्यसहितको समाचार प्रकाशन गरेका थिए। सोही विषयमा थप प्रतिक्रिया लिन खोज्दा कूटनीतिज्ञबाटै मानसिक त्रास सिर्जना गर्ने र धम्क्याउने काम भएको जनाइएको छ।

महासंघले यस कार्यलाई स्वतन्त्र प्रेस, अभिव्यक्ति स्वतन्त्रता र कूटनीतिक आचरणविपरीतको कदम भन्दै घोर भर्त्सना गरेको छ। जिम्मेवार सार्वजनिक पदमा रहेका व्यक्तिबाट व्यावसायिक दायित्व निर्वाह गरिरहेका पत्रकारमाथि यस्तो व्यवहार हुनु निन्दनीय र गम्भीर विषय भएको विज्ञप्तिमा उल्लेख छ।

महासंघले नेपाल सरकार, परराष्ट्र मन्त्रालय र सम्बन्धित निकायसँग घटनाको तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ। साथै, विदेशमा रहेका नेपाली पत्रकारहरूको सुरक्षा, सम्मान र भयरहित वातावरणमा काम गर्ने अधिकार सुनिश्चित गर्न पनि आग्रह गरिएको छ।

धेरै पढिएको